२९ फाल्गुण, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा सोचेजस्तो नतिजा ल्याउन नसकेपछि नेपाली कम्युनिष्ट पार्टी ‘नेकपा’ ले आफ्नो चुनावी प्रदर्शनको सुक्ष्म ‘पोस्टमार्टम’ सुरु गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाले ७७ वटै जिल्ला र निर्वाचन क्षेत्रका मातहत कमिटीहरूलाई ‘निर्वाचन विशेष निर्देशन–३ जारी गर्दै चुनावी गतिविधि र परिणामको विस्तृत समीक्षा प्रतिवेदन बुझाउन सात दिनको समयसीमा तोकेको हो । संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालको हस्ताक्षर रहेको उक्त निर्देशनमा निर्वाचनका क्रममा भएका कमीकमजोरी, आन्तरिक घात–अन्तरघात र विपक्षीको रणनीतिको तथ्यपरक विश्लेषण मागेर नेतृत्वले हारको जिम्मेवारी बाँडफाँड गर्ने संकेत गरेको छ ।
नेकपाले निर्वाचन परिणामलाई अनपेक्षित मान्दै यसका पछाडि आन्तरिक संगठन समायोजनको अभाव र प्रचारप्रसारको कमजोरीलाई मुख्य ढाल बनाएको छ । एकता प्रक्रिया टुङ्गो नलाग्दै निर्वाचनमा होमिनुपरेकाले नयाँ चुनाव चिह्न र पार्टीको नीति जनताको घरदैलोसम्म पुर्याउन नसकिएको नेतृत्वको निष्कर्ष छ । विशेषगरी भदौ २३ र २४ गतेका राजनीतिक घटनाक्रमपछि विपक्षीले फैलाएको नकारात्मक प्रचारलाई चिर्न नसक्नु र मिडिया व्यवस्थापनमा चुकेका कारण प्रत्यक्षतर्फ केवल आठ सिटमा खुम्चिनुपरेको स्वीकारोक्ति निर्देशन पत्रमा झल्किएको छ । प्रतिकूल परिस्थितिमा पनि १७ सिट सुरक्षित हुनुले लोकतन्त्रलाई भने सही दिशामा ल्याएको दाबी पार्टीले गरेको छ ।
केन्द्रीय कार्यालयले मागेको समीक्षा प्रतिवेदनमा निर्वाचन परिचालन समितिको भूमिका, आर्थिक पारदर्शिता, डिजिटल मिडियाको उपयोग र बुथ तहको व्यवस्थापन सम्मका विषय समेट्न भनिएको छ । साथै, आफ्ना उम्मेदवारको प्रभावकारिता र प्रतिस्पर्धी दलहरूले कुन रणनीतिबाट मत ताने भन्नेबारे सूक्ष्म अध्ययन गरी सुझावसहितको विवरण पेस गर्न नेकपाले कडा निर्देशन दिएको छ । निर्वाचनमा खटिएका कार्यकर्ता र मतदातालाई धन्यवाद दिँदै नेतृत्वले अब संसद्मा रचनात्मक प्रतिपक्षको भूमिकामा बसेर गुमेको साख फर्काउने संकल्प गरेको छ ।

















