Logo

२९ फागुन,वीरगञ्ज । पर्सा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुशील कुमार कानुले निर्वाचनमा आफूले गरेको खर्चको विवरण सार्वजनिक गरेका छन्। उनले शुक्रबार निर्वाचन कार्यालय पर्सामा खर्च विवरण बुझाउनुका साथै सामाजिक सञ्जाल फेसबुकमार्फत पनि सार्वजनिक गरेका हुन्।

कानुले सार्वजनिक गरेको विवरण अनुसार उनले निर्वाचनमा कूल ९ लाख ९५ हजार ६१४ रुपैयाँ खर्च गरेको उल्लेख गरेका छन्। खर्च विवरणमा सबैभन्दा बढी रकम प्रचार–प्रसार सामग्रीमा खर्च भएको देखिएको छ। प्रचार सामग्रीमा ५ लाख ७९ हजार १२४ रुपैयाँ खर्च गरिएको छ भने सवारी साधनमा १ लाख ५५ हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

यसैगरी अन्य प्रचार–प्रसार सामग्रीमा ९९ हजार ४९० रुपैयाँ, गोष्ठी तथा अन्तरक्रिया र खाजा खर्चमा ९२ हजार रुपैयाँ, विविध खर्चमा ४२ हजार रुपैयाँ, विद्युतीय सामाजिक सञ्जाल प्रचारमा १५ हजार रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख छ। त्यस्तै मनोनयन दर्तामा १० हजार रुपैयाँ र मतदाता नामावलीमा ३ हजार रुपैयाँ खर्च भएको जनाइएको छ।

पर्सा क्षेत्र नम्बर २ मा कानुले ३० हजार ७४० मत प्राप्त गर्दै विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्वमन्त्री अजयकुमार चौरसियाले ११ हजार ८९० मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका थिए। त्यसैगरी एमाले उम्मेदवार रिमा कुमारी यादवले ११ हजार ६०५ मत प्राप्त गरेकी थिइन्।


सम्बन्धित समाचार