Logo

३० फागुन, काठमाडौं । इराकको राजधानी बगदादमा रहेको अमेरिकी दूतावासमा मिसाइल आक्रमण भएको छ। विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त आक्रमण इरानतर्फबाट गरिएको बताइएको छ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार इरानी मिसाइल दूतावासको भवनतर्फ प्रहार गरिएको थियो। मिसाइल भवन नजिकै ठोक्किएपछि आकाशमा धुवाँको मुस्लो देखिएको उल्लेख गरिएको छ। तर आक्रमणबाट भएको क्षतिको विस्तृत विवरण भने अझै सार्वजनिक भएको छैन।

समाचार एजेन्सी एसोसिएटेड प्रेस (एपी) ले मिसाइल दूतावास परिसरभित्र रहेको हेलिप्याड (हेलिकप्टर अवतरण गर्ने स्थान) क्षेत्रमा खसेको जनाएको छ।

यसैबीच, एएफपीले सुरक्षा स्रोतलाई उद्धृत गर्दै दूतावास परिसरमा ड्रोन आक्रमणसमेत भएको दाबी गरेको छ।

अलजजिराका अनुसार शनिबार बिहान सबेरै बगदादस्थित अमेरिकी दूतावास परिसरबाट धुवाँ उठिरहेको देखिएको थियो। सुरक्षा अधिकारीहरूले दूतावासभित्र रहेको हेलिप्याड क्षेत्रमा मिसाइल प्रहार भएको प्रारम्भिक जानकारी दिएका छन्।

घटनापछि दूतावास वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ भने आक्रमणबारे थप विवरण आउन बाँकी रहेको जनाइएको छ।


सम्बन्धित समाचार