३० फागुन,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ।
आजको बैठकमा समानुपातिकतर्फका सांसदहरूको नाम टुंगो लगाउने तयारी गरिएको थियो। तर अधिकांश सचिवालय सदस्यहरू उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको रास्वपाकी सह–प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्।
रास्वपाका सचिवालय सदस्य विरातभक्त श्रेष्ठले मौसमको तीव्र परिवर्तन, बढ्दो प्रदूषण तथा अत्यधिक धपेडीका कारण स्वास्थ्यमा केही प्रतिकूल असर परेको सार्वजनिक रूपमा जानकारी गराएका छन्।
श्रेष्ठजस्तै अन्य केही सचिवालय सदस्यहरू पनि बैठकमा उपस्थित हुन नसक्ने अवस्थामा पुगेपछि आजका लागि बैठक स्थगित गर्नुपरेको रावलले बताइन्।
‘चुनावपछिको दौडधुप, मौसम परिवर्तन र स्वास्थ्यसम्बन्धी समस्या देखिएकाले अधिकांश सचिवालय सदस्य उपस्थित हुन नसक्ने अवस्था आयो। त्यसैले आजका लागि बैठक स्थगित गरिएको हो,’ रावलले भनिन्।
रास्वपाले उक्त बैठक भोलि आइतबारका लागि सारेको छ। रावलका अनुसार सचिवालय बैठक भोलि बिहान १० बजे बस्ने तयारी गरिएको छ।
















