३० फागुन,काठमाडौं । युएईमा इरानले गरेको आक्रमणपछि त्यहाँको हवाई प्रतिरक्षा प्रणालीले मिसाइल तथा ड्रोन नष्ट पार्दै गरेको तस्बिर र भिडिओ खिचेर सार्वजनिक गर्नेलाई पक्राउ गर्न थालिएको छ।
यसअघि युएई सरकार र सुरक्षा निकायले त्यस्ता घटनाका तस्बिर तथा भिडिओ नखिच्न, सामाजिक सञ्जाल वा अन्य माध्यमबाट सार्वजनिक नगर्न र प्रचलित कानुनको पालना गर्न सर्वसाधारणलाई सचेत गराएका थिए।
अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि आक्रमण गरेपछि इरानले युएईसहित मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्ष्य गरी ड्रोन र मिसाइल प्रहार गरिरहेको बताइएको छ।
त्यसको प्रतिकारका क्रममा युएईको हवाई प्रतिरक्षा प्रणालीले आक्रमण निस्तेज पार्दै गरेको दृश्य कैद गरी सामाजिक सञ्जालमा सार्वजनिक गर्ने क्रम बढेपछि सुरक्षा निकायले कारबाही थालेको हो।
बीबीसीका अनुसार युएईको प्रतिरक्षा प्रणालीले निस्तेज पारेको घटनाका तस्बिर तथा भिडिओ सार्वजनिक गर्ने कम्तीमा १० जनालाई पक्राउ गरिएको छ। पक्राउ परेका व्यक्तिहरूको थप विवरण भने सार्वजनिक गरिएको छैन।
















