१ चैत्र, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) मा विकसित पछिल्लो सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै आबुधाबीस्थित नेपाली दूतावासले त्यहाँ कार्यरत तथा बसोबास गर्ने नेपाली समुदायका लागि विशेष ‘ट्राभल एडभाइजरी’ जारी गरेको छ ।
दूतावासले जारी गरेको ‘एडभाइजरी–३’ मार्फत सामाजिक सञ्जालको प्रयोगमा उच्च सतर्कता अपनाउन र सुरक्षासँग सम्बन्धित कुनै पनि भ्रमपूर्ण वा संवेदनशील सामग्री पोस्ट नगर्न कडा आग्रह गरिएको छ । वर्तमान परिस्थितिसँग सम्बन्धित अपुष्ट सूचना, भिडियो वा तस्वीरहरू डिजिटल माध्यमबाट प्रसारण वा सेयर गर्दा सुरक्षा व्यवस्थामा खलल पुग्न सक्ने र भ्रम फैलिन सक्ने भन्दै दूतावासले सबै नेपालीलाई जिम्मेवार बन्न अपिल गरेको हो ।
कडा कानुनी प्रावधान र जरिबानाको चेतावनी
यूएईको स्थानीय कानुन अत्यन्तै कडा रहेकाले गैरकानुनी वा अनुमतिबिनाका डिजिटल गतिविधिमा संलग्न हुनेहरूले ठूलो मूल्य चुकाउनुपर्ने दूतावासले स्पष्ट पारेको छ । यदि कोही नेपाली त्यहाँको सुरक्षा मर्यादा विपरितका कार्यमा संलग्न पाइएमा १ देखि ३ वर्षसम्मको कैद सजाय र १ लाखदेखि २ लाख दिरामसम्मको भारी जरिबाना हुन सक्ने चेतावनी दिइएको छ । यसका साथै, मिसाइल वा ड्रोन अवरोधका क्रममा आकाशबाट खसेका कुनै पनि अवशेष वा टुक्राहरूको नजिक नजान, तिनको तस्वीर नखिच्न र सार्वजनिक नगर्न पनि विशेष निर्देशन दिइएको छ । यस्ता संवेदनशील सामग्रीको प्रचारप्रसारले सुरक्षा अपरेसनमा बाधा पुर्याउने भएकाले यसतर्फ सजग रहन आग्रह गरिएको छ ।
आधिकारिक स्रोतबाट मात्र जानकारी लिन सुझाव
अफवाह र गलत सूचनाबाट बच्नका लागि दूतावासले आधिकारिक सरकारी निकायहरूबाट जारी हुने सूचनालाई मात्र आधार मान्न नेपाली समुदायलाई सुझाएको छ । यूएईको परराष्ट्र, रक्षा र गृह मन्त्रालयका साथै दुबई र आबुधाबी मिडिया कार्यालय तथा इमिरेट्स न्युज एजेन्सीबाट आउने जानकारी मात्र आधिकारिक हुने दूतावासको भनाइ छ ।
नेपालीहरूलाई थप स्पष्टता र अद्यावधिक जानकारीका लागि नेपाली दूतावासको आधिकारिक फेसबुक पेज नियमित हेर्न समेत अनुरोध गरिएको छ । सुरक्षा मापदण्डको पूर्ण पालना गर्दै सचेत, सुरक्षित र संयमित भएर बस्न दूतावासले सबै नेपालीमा पुनः आग्रह गरेको छ।
















