Logo

२ चैत्र, काठमाडौं। भारतको ओडिसास्थित कटकमा रहेको प्रख्यात श्रीराम चन्द्र भञ्ज मेडिकल कलेज अस्पतालमा आइतबार राति भएको भीषण आगलागीमा परी १० जना बिरामीले ज्यान गुमाएका छन् ।

राति करिब ३ बजे अस्पतालको पहिलो तलामा रहेको ट्रमा केयर आईसीयूबाट सुरु भएको आगोले छोटो समयमै उग्र रूप लिँदा ७ जनाको घटनास्थलमै र अन्य ३ जनाको उपचारका क्रममा मृत्यु भएको हो। आगलागी हुँदा उक्त विशेष उपचार कक्षमा २३ जना बिरामी भर्ना रहेका थिए ।

अस्पतालको आईसीयूमा अचानक फैलिएको आगोबाट बिरामीहरूलाई बचाउने क्रममा ११ जना स्वास्थ्यकर्मी समेत जलेर घाइते भएका छन् । प्रारम्भिक अनुसन्धानका अनुसार विद्युत् सर्ट भई आगलागी सुरु भएको अनुमान गरिएको छ। ओडिसा राज्यकै सबैभन्दा ठूलो र महत्वपूर्ण मानिने यस स्वास्थ्य संस्थामा भएको दुखद घटनापछि सोमबार बिहानै मुख्यमन्त्री मोहन चरण माझीले अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिनुभएको छ । मुख्यमन्त्रीले मृतकका परिवारलाई प्रतिपरिवार २५ लाख भारु राहत दिने घोषणा गर्दै घटनाको उच्चस्तरीय छानबिन गर्न कडा निर्देशन दिनुभएको छ ।

अस्पताल जस्तो संवेदनशील क्षेत्रमा बारम्बार हुने यस्ता आगलागीका घटनाले सुरक्षा प्रणाली र अग्नि नियन्त्रण संयन्त्रमाथि गम्भीर प्रश्न उठाएको छ । यसअघि अक्टोबर २०२५ मा जयपुरको सवाई मानसिंह अस्पतालमा पनि यस्तै प्रकृतिको आगलागी हुँदा ८ जनाको ज्यान गएको थियो ।

तत्कालीन समयमा स्मोक डिटेक्टर र अलार्म प्रणालीले काम नगर्दा भेन्टिलेटरमा रहेका बिरामीहरूले ज्यान गुमाउनु परेको सन्दर्भमा कटकको यो घटनाले अस्पतालहरूको सुरक्षा पूर्वाधार र आपत्कालीन पूर्वतयारीमा ठूलो कमजोरी रहेको पुनः पुष्टि गरेको छ ।


सम्बन्धित समाचार
भर्खरै