Logo

२ चैत,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय बारा ले नेपाल सरकारले तोकेको मूल्यभन्दा बढीमा एलपी ग्यास बिक्री–वितरण नगर्न सम्बन्धित व्यवसायीलाई निर्देशन दिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई ले आइतबार सूचना जारी गर्दै जिल्लामा रहेका सम्पूर्ण खाना पकाउने एलपी ग्यास उत्पादक, वितरक तथा डिलरलाई सरकारी मूल्यसूचीअनुसार मात्र ग्यास बिक्री गर्न आग्रह गरेका हुन्।

सूचनामा तोकिएको परिमाण, गुणस्तर तथा मापदण्डअनुसार उपभोक्तालाई ग्यास उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ। अनुगमनका क्रममा निर्देशिका पालना नगरेमा प्रचलित कानुनअनुसार आवश्यक कारबाही गरिने चेतावनी पनि दिइएको छ।

प्रशासनले ग्यास सिलिण्डरको भण्डारण तथा बिक्री–वितरण गर्दा निर्धारित सुरक्षा मापदण्ड पूर्ण रूपमा पालना गर्न, उपभोक्तालाई सुरक्षित तथा मापदण्डअनुसारको सिलिण्डर मात्र उपलब्ध गराउन पनि आग्रह गरेको छ।

त्यस्तै एलपी ग्यासको अनावश्यक मौज्दात नराख्न, वितरण प्रणालीलाई पारदर्शी बनाउँदै पालो प्रणालीमार्फत उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन पनि सूचनामा उल्लेख गरिएको छ।

डिलरहरूले उद्योगबाट खरिद गरिएको ग्यासको परिमाण, बिक्री तथा मौज्दातको विवरण व्यवस्थित रूपमा राखी सो अभिलेख पाक्षिक रूपमा जिल्ला प्रशासन कार्यालयमा पठाउनुपर्ने व्यवस्था गरिएको छ।

यसका साथै एक सिलिण्डरबाट अर्को सिलिण्डरमा ग्यास खन्याई खुद्रा बिक्री नगर्न तथा समय–समयमा हुने अनुगमनका क्रममा प्रशासनले दिएका निर्देशन पालना गर्न पनि प्रशासनले आग्रह गरेको छ।


सम्बन्धित समाचार