२ चैत्र, काठमाडौँ । गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग खेपिरहेका नेपाली कांग्रेसका निवर्तमान सांसद एवं पूर्व मेयर सन्तोष चालिसेसँग विशेष अदालतले ५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।
विशेष अदालतका अध्यक्ष नारायणप्रसाद पौडेल र सदस्य विदुर कोइरालाको इजलासले आइतबार थुनछेक बहसपछि चालिसेलाई धरौटीमा छाड्ने आदेश दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अदालतसमक्ष उनले आफूमाथि लागेको आरोप इन्कार गरे पनि अदालतले मुद्दाको किनारा नलागुन्जेलका लागि धरौटी बुझाउन आदेश दिएको हो ।
संसद्को अर्थ समितिका निवर्तमान सभापति समेत रहेका चालिसेमाथि ३ करोड ६८ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको गम्भीर आरोप छ । अख्तियारले गरेको अनुसन्धानका क्रममा उनले ८ करोड ५६ लाख रुपैयाँ बराबरको सम्पत्ति जोडेको देखिए पनि त्यसमध्ये ४ करोड ८८ लाख रुपैयाँको मात्रै वैध स्रोत खुलेको थियो । बाँकी रकमको स्रोत नखुलेपछि अख्तियारले उनले गोकर्णेश्वर नगरपालिकाको मेयर हुँदा शक्तिको दुरुपयोग गरी अवैध सम्पत्ति थुपारेको ठहर गर्दै गत मङ्सिर २८ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अख्तियारले चालिसेलाई मात्र नभई अवैध रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनकी पत्नी मन्दिरा, छोराहरू सागर र सञ्जीव तथा बुहारी प्रमिला पोखरेललाई समेत प्रतिवादी बनाएको छ । २०७४ सालको स्थानीय निर्वाचनबाट मेयर निर्वाचित भएका चालिसेले आफ्नो कार्यकालमा वास्तविक सम्पत्ति लुकाएर झुटा विवरण पेस गरेको र सम्पत्ति शुद्धीकरणको समेत कसुर गरेको अभियोग छ ।
मेयरको कार्यकालपछि काठमाडौँ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका चालिसे अहिले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर कानुनी झमेलामा फसेका छन् ।

















