मध्यपूर्वमा जारी तनाव र इरानसँगको सैन्य मुठभेडका क्रममा हालसम्म १३ जना अमेरिकी सैनिकले ज्यान गुमाएका छन् ।
अमेरिकी सैन्य अधिकारीहरूका अनुसार फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका-इजरायल गठबन्धन र इरानबीचको यस युद्धमा घाइते हुने अमेरिकी सैनिकहरूको सङ्ख्या समेत बढेर करिब दुई सय पुगेको छ । अमेरिका र इजरायलले इरानमाथि आक्रमण तीव्र पारेसँगै यो क्षेत्रमा सैन्य क्षतिको ग्राफ उकालो लागेको हो ।
युद्धको भयावह अवस्थालाई चित्रण गर्दै बीबीसीले जनाएअनुसार यस अवधिमा कुल मृत्यु हुनेहरूको सङ्ख्या तीन हजार नाघिसकेको छ । इरानभन्दा बाहिरबाट सक्रिय मानव अधिकारवादी संस्था एचआरएएनएको तथ्याङ्कलाई उद्धृत गर्दै सार्वजनिक रिपोर्टअनुसार मारिनेहरूमा १३ सय ५१ सर्वसाधारण नागरिक र ११ सय २६ सैन्यकर्मी रहेका छन् । यो तथ्याङ्कले युद्धको मार सैन्य अखडामा मात्र नभई आम बस्तीमा समेत गहिरो गरी परेको देखाउँछ ।
द्वन्द्वको राप इरानमा मात्र सीमित नभई छिमेकी देशहरूमा समेत फैलिएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ ८८६ जनाको मृत्यु भइसकेको छ, जसमा ६७ महिला र १११ बालबालिका रहेका छन् । यसका साथै संयुक्त अरब इमिरेट्स, कुवेत, साउदी अरब, बहराइन र ओमानमा पनि युद्धसँग जोडिएका हताहतीका विवरणहरू प्राप्त भइरहेका छन् । मध्यपूर्वका विभिन्न देशहरूमा भइरहेको यो क्षतिले यस क्षेत्रमा मानवीय सङ्कट झनै जटिल बन्दै गएको सङ्केत गरेको छ ।

















