Logo

३ चैत,वीरगञ्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र बारा–२ का नेपाली कांग्रेसका उम्मेदवार भैयाराम प्रसाद यादवले आफ्नै पार्टीका जिल्ला सभापति राजेश राय यादवलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्काशन गर्न माग गरेका छन्।

२१ फागुनमा सम्पन्न निर्वाचनमा आफूलाई हराउन भूमिका खेलेको आरोप लगाउँदै यादवले कांग्रेसको केन्द्रीय अनुशासन समितिसमक्ष लिखित उजुरी दर्ता गराएका हुन्। उनले जिल्ला सभापति राजेश रायसहित अन्य १० जनामाथि पनि समान कारबाही गर्नुपर्ने माग गरेका छन्।

उजुरीमा पूर्वकेन्द्रीय सदस्य राधेचन्द्र यादव, क्षेत्र नम्बर २ का सभापति रामप्रवेश यादव, जिल्ला सदस्य रविन्द्र यादव तथा प्रदेश क्षेत्रीय कार्यसमिति (क) का सचिव हरेकृष्ण प्रसाद जैसवाललाई पनि समावेश गरिएको छ।

त्यसैगरी, क्षेत्रीय कार्यसमिति (ख) का सभापति हरिलाल प्रसाद यादव, करैयामाई गाउँपालिका सभापति मुस्ताक अन्सारी, देवताल गाउँपालिका सभापति रामदयाल महती, महागढीमाई नगरपालिका–४ का सभापति राजेश साह तेली, पचरौता नगरपालिका–१ का सभापति श्रीनारायण सिंह र वडा नम्बर ५ का सभापति वीरबहादुर यादवको नाम पनि उजुरीमा उल्लेख गरिएको छ।

यादवले विपक्षीसँग मिलेर आफूलाई चुनाव हराउने प्रयास गरिएको आरोप लगाउँदै ती सबैलाई १० वर्षसम्मका लागि पार्टीबाट निष्काशन गर्न माग गरेका छन्।

भर्खरै सम्पन्न निर्वाचनमा यादव ११ हजार ८३७ मत ल्याएर तेस्रो स्थानमा रहेका थिए। सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका चन्दनकुमार सिंह ३५ हजार ५९० मतसहित विजयी भएका थिए।

यसअघि पनि बारा–३ को क्षेत्रीय कार्यसमितिले जिल्ला सभापति राजेश रायसहित १६ जनाविरुद्ध अन्तर्घातको आरोप लगाउँदै केन्द्रमा कारबाहीका लागि सिफारिस गरिसकेको छ।


सम्बन्धित समाचार