Logo

३ चैत्र, काठमाडौं । रष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदहरूका लागि तीन दिने विशेष अभिमुखीकरण कार्यक्रम ललितपुरको ग्वार्कोस्थित होटल टुलिपमा भव्य रूपमा सुरु भएको छ ।

पार्टीको चुनाव चिह्नको प्रतीकका रूपमा उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले सामूहिक रूपमा घण्टी बजाएर कार्यक्रमको विधिवत् उद्घाटन गर्नुभएको हो । ऐतिहासिक विजयपश्चात् संसदीय अभ्यासमा प्रवेश गर्न लागेका सांसदहरूलाई प्रशिक्षित गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमको पहिलो दिनमा भने पार्टीका प्रमुख दुई हस्तीहरू सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन० को उपस्थिति देखिएन ।

उपसभापति अर्यालले स्वास्थ्य समस्या र कार्यव्यस्तताका कारण आजको कार्यक्रममा दुवै शीर्ष नेताहरू सहभागी हुन नसकेको स्पष्ट पार्दै आगामी सत्रहरूमा उनीहरूको उपस्थिति रहने जानकारी दिनुभएको छ ।

फागुन २१ को निर्वाचनबाट प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी कुल १८२ सिटसहित संसद्मा ऐतिहासिक उपस्थिति जनाएको रास्वपाका लागि यो अभिमुखीकरण अत्यन्तै महत्त्वपूर्ण मानिएको छ । उद्घाटन सत्रमा निर्वाचनका क्रममा भएका मानवीय संवेदनाका दृश्यहरूले समेत स्थान पाएका थिए ।

विशेषगरी जेनजी आन्दोलनका शहीद रसिक खतिवडाकी आमा रचना खतिवडा र नेता सुधन गुरुङबीचको भावुक भेटले कार्यक्रमको माहोल निकै गम्भीर बनाएको थियो । भावविह्वल बनेकी आमालाई गुरुङले सान्त्वना दिँदै आन्दोलनको मर्म र शहीदको सपना पूरा गर्ने प्रतिबद्धता प्रकट गर्नुभएको थियो ।

पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार आगामी बुधबारसम्म चल्ने यस प्रशिक्षणमा संसदीय प्रक्रिया, कानुन निर्माणको विधि र विषय विज्ञहरूका विभिन्न प्रस्तुतिहरू समेटिनेछन् । नयाँ सांसदहरूलाई सदनमा प्रभावकारी भूमिका खेल्न र पार्टीको नीतिअनुरूप जनपक्षीय काम गर्न तयार पार्नु नै यस कार्यक्रमको मुख्य लक्ष्य रहेको छ ।

रास्वपाले पहिलो पटक यति ठूलो सङ्ख्यामा सांसदहरू पाएको सन्दर्भमा यो अभिमुखीकरणलाई पार्टीको आन्तरिक सुदृढीकरण र भविष्यको कार्यदिशा तय गर्ने महत्त्वपूर्ण खुड्किलोका रूपमा हेरिएको छ ।


सम्बन्धित समाचार