३ चैत्र, काठमाडौं । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका प्रमुख पुष्पवादी भ्रष्टाचारको गम्भीर आरोपमा तानिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरप्रमुख वादी र नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनियर मोहन शाहविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । नगरपालिकामा करार सेवामा कार्यरत शाहको म्याद थप गरिदिने बहानामा नगरप्रमुख वादीले आर्थिक लेनदेन गरेको र घुस नदिएपछि कामबाट निकालेको उजुरीका आधारमा अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानका क्रममा नगरप्रमुख र कर्मचारीबीच पदको दुरुपयोग गरी मोटो रकम लेनदेन भएको पुष्टि भएपछि आयोगले दुवैजनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गरेको छ ।
आयोगका अनुसार सब-इन्जिनियर शाहले आर्थिक वर्ष २०८१/८२ मा आफ्नो सेवा करार अवधि नवीकरण गराउन नगरप्रमुख वादीलाई एक लाख रुपैयाँ घुस बुझाएका थिए। सोही रकमकै बलमा उनको म्याद थप भए पनि पुनः आगामी आर्थिक वर्ष २०८२/८३ को नवीकरणका लागि नगरप्रमुखले फेरि घुस माग गरेपछि विवाद सुरु भएको थियो ।
मागबमोजिमको थप रकम बुझाउन नसकेपछि नगरप्रमुखले शाहको करार अवधि थप नगर्ने निर्णय गरेपछि यो रहस्य बाहिर आएको हो । कर्मचारी शाह आफैँले घुस दिएको स्वीकार गर्दै उजुरी दिएपछि अख्तियारले यसलाई भ्रष्टाचार निवारण ऐन बमोजिमको कसुर ठहर गरेको छ ।
अख्तियारले विशेष अदालतमा पेश गरेको अभियोग पत्रमा सार्वजनिक पदमा आसिन व्यक्तिले आफ्नो अधिकारको दुरुपयोग गरी व्यक्तिगत लाभ लिएको र कर्मचारीले पनि आफ्नो स्वार्थका लागि घुस दिएर कानुनको उल्लंघन गरेको उल्लेख छ ।
यो घटनाले स्थानीय तहमा हुने राजनीतिक नियुक्ति र करार सेवाका कर्मचारीहरूको म्याद थपमा हुने चरम बेथिति र आर्थिक चलखेललाई पुनः सतहमा ल्याइदिएको छ । भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम कसुर पुष्टि भएमा दुवै प्रतिवादीलाई कैद र जरिवानाको सजाय हुन सक्नेछ ।

















