३ चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका ले लामखुट्टे नियन्त्रणका लागि मंगलबारदेखि एयर स्प्रे (फगिङ) मार्फत विषादी छर्ने अभियान सुरु गरेको छ।
महानगरपालिकाले यसअघि पम्प स्प्रे मार्फत मात्र लामखुट्टे नियन्त्रणको काम गर्दै आएको भए पनि अब बिहान पम्प स्प्रे र साँझ एयर स्प्रे (फगिङ) दुवै विधि प्रयोग गरी अभियानलाई तीव्रता दिएको सरसफाइ अधिकृत सर्फुदिन मियाँ ले जानकारी दिए।
उनका अनुसार बिहान तथा दिउँसो लार्भा अवस्थाका लामखुट्टेलाई नियन्त्रण गर्ने र साँझ वयस्क लामखुट्टेलाई फगिङमार्फत नष्ट गर्ने योजना बनाइएको छ।
गर्मी सुरु भएसँगै वीरगंज क्षेत्रमा लामखुट्टेको प्रकोप बढ्न थालेपछि त्यसलाई नियन्त्रण गर्न महानगरपालिकाले ३२ वटै वडामा विषादी छर्ने तालिका नै बनाएर अभियान सञ्चालन गरिरहेको जनाएको छ।
वीरगंजमा चिसो मौसम सकिएर गर्मी सुरु हुने समय र वर्षायामको प्रारम्भमा लामखुट्टेको संख्या बढ्ने गरेको छ। यसलाई मध्यनजर गर्दै महानगरपालिकाले वर्षमा दुई पटक नियमित रूपमा विषादी छर्ने कार्यक्रम सञ्चालन गर्दै आएको छ।
महानगर प्रमुख राजेशमान सिंह ले लामखुट्टेको टोकाइबाट फैलिन सक्ने डेंगु र मलेरिया जस्ता रोगबाट नागरिकलाई जोगाउन अभियानलाई निरन्तरता दिइएको बताए।
उनले नागरिकलाई घर वरपर पानी जम्न नदिन, सरसफाइमा ध्यान दिन र लामखुट्टे नियन्त्रण अभियानमा सक्रिय सहयोग गर्न आग्रह गरेका छन्।

















