४ चैत्र, काठमाडौं । प्रभु बैंकका कर्पोरेट एण्ड प्रोजेक्ट फाइनान्स विभाग प्रमुख दिनेश डङ्गोल बैंकिङ्ग कसुरको अभियोगमा पक्राउ परेका छन् ।
नेपाल प्रहरीको साइबर ब्युरोले डङ्गोललाई बैंकको उच्च ओहोदामा रहेर प्रचलित कानुन र नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत कार्य गरेको आरोपमा नियन्त्रणमा लिएको हो । ब्युरोले यसअघि नै प्रतिवादी अशोक शेरचन लगायतमाथि अनुसन्धान गरिरहेको सन्दर्भमा थप नयाँ तथ्य र प्रमाणहरू फेला परेपछि डङ्गोललाई पक्राउ गरिएको जानकारी दिएको छ ।
अनुसन्धानका क्रममा डङ्गोलले प्रभु म्यानेजमेन्ट प्रालि लगायतका संस्थाहरूमा प्रवाह गरिएको कर्जाको दुरुपयोग गरेको र वित्तीय अनुशासन उल्लंघन गरेको पाइएको छ ।
ब्युरोका सूचना अधिकारी शिवकुमार श्रेष्ठका अनुसार पक्राउ परेका डङ्गोलमाथि जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी विस्तृत अनुसन्धान अगाडि बढाइएको छ । बैंकको महत्वपूर्ण विभाग सम्हालेका उच्च अधिकारी नै पक्राउ परेपछि बैंकिङ्ग क्षेत्रमा यसले नयाँ तरङ्ग पैदा गरेको छ ।

















