Logo

४ चैत्र, काठमाडौं । संघीय संसद्ले इतिहासकै कान्छो सदस्यका रूपमा २५ वर्षीय प्रशान्त उप्रेतीलाई पाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनावी मैदानमा उत्रिएका उप्रेतीले परम्परागत राजनीतिक शक्तिहरूलाई पराजित गर्दै प्रतिनिधिसभाको यात्रा सुनिश्चित गरेका हुन् । जेनजी आन्दोलनपछि सिर्जित राजनीतिक लहर र युवा मतदाताको अभूतपूर्व समर्थनका कारण उनी मुलुककै कान्छो सांसद बन्न सफल भएका हुन् ।

मकवानपुरको मनहरी निवासी उप्रेतीको पृष्ठभूमि राजनीतिक नभए पनि काठमाडौँ महानगरका मेयर बालेन शाहको निर्वाचन अभियानमा सक्रिय भूमिका खेलेर उनले आफ्नो सांगठनिक क्षमता पुष्टि गरिसकेका थिए । बालेनको सचिवालयमा रहेर युवा परिचालन र व्यवस्थापनको अनुभव बटुलेका उनले पर्यटन र व्यवस्थापनमा उच्च शिक्षा हासिल गरेका छन् । उप्रेतीको यो विजयलाई राजनीतिक विश्लेषकहरूले पुराना दलप्रतिको बढ्दो वितृष्णा र नेतृत्वमा युवा पुस्ताको हस्तक्षेपका रूपमा अर्थ्याएका छन् ।

संसद् प्रवेशसँगै उप्रेतीमाथि युवाका मुद्दा र जनअपेक्षालाई सम्बोधन गर्नुपर्ने ठूलो जिम्मेवारी आएको छ । निर्वाचनका क्रममा उनको उमेरलाई लिएर प्रश्न उठाइए पनि अन्तिम नतिजाले उनलाई परिवर्तनको बलियो संवाहकका रूपमा स्थापित गरिदिएको छ । २५ वर्षको कलिलो उमेरमै नीति निर्माणको तहमा पुगेका उप्रेतीले अब संसद्मा कस्तो भूमिका निर्वाह गर्छन् भन्ने विषयलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ ।


सम्बन्धित समाचार