४ चैत्र, काठमाडौं । हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण रूपमा सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीले नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूलाई विशेष धन्यवाद ज्ञापन गर्नुभएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज आयोजित एक विशेष भेटघाटमा प्रधानमन्त्री कार्कीले नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ र वर्षमान पुन लगायतका नेताहरूलाई आमन्त्रण गरी निर्वाचनको वातावरण निर्माणमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो । लोकतान्त्रिक विधिबाट मुलुकलाई निकास दिन नेकपाले देखाएको राजनीतिक सुझबुझ र सहभागिताको कदर गर्दै उहाँले विजयी नेताहरूलाई बधाई तथा अन्यलाई आगामी दिनका लागि शुभकामना समेत दिनुभयो ।
छलफलका क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचनमा भाग लिएर मुलुकलाई एउटा निश्चित मार्गचित्रमा लैजान सहयोगी भूमिका खेलेकोमा नेकपा नेतृत्वप्रति कृतज्ञता व्यक्त गर्नुभयो । जवाफमा नेकपा संयोजक प्रचण्डले प्रधानमन्त्री कार्कीको साहस र मेहनतको खुलेर प्रशंसा गर्दै यो निर्वाचन सम्पन्न नभएको भए मुलुक ठूलो राजनीतिक दुर्घटनामा फस्न सक्ने खतरा औँल्याउनुभयो ।
उहाँले कठिन परिस्थितिमा पनि अडिग रहेर निर्वाचन गराउन सफल भएकोमा प्रधानमन्त्रीको नेतृत्वको सराहना गर्दै देशले अब विकास र स्थिरताको नयाँ दिशा समात्ने विश्वास व्यक्त गर्नुभयो ।

















