४ चैत्र, काठमाडौं । खोटाङको केपिलासगढी गाउँपालिका–२, बालाबेसीमा भएको हेलिकप्टर दुर्घटनाका घाइतेलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।
बुधबार दिउँसो एयर डाइनेस्टीको ‘९–एनएफक्यू’ कलसाइन भएको हेलिकप्टर दुर्घटना हुँदा घाइते भएका यात्रु काजीबहादुर राईलाई कम्पनीकै अर्को हेलिकप्टरमार्फत तत्कालै राजधानी ल्याइएको हो । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक (डीएसप) प्रकाश बुढाथोकीका अनुसार घाइते राईको अवस्था र उपचारको संवेदनशीलतालाई मध्यनजर गर्दै हेलिकप्टरबाटै उद्धार गरिएको हो ।
दुर्घटनाको समयमा चालकसहित कुल ६ जना सवार रहेको उक्त हेलिकप्टरमा राईबाहेक अन्य पाँच जना भने पूर्ण रूपमा सकुशल रहेका छन् । अवतरणका क्रममा प्राविधिक समस्या उत्पन्न भई भित्तामा ठोक्किएको प्रारम्भिक अनुमान गरिएको यस दुर्घटनामा मानवीय क्षति हुनबाट जोगिएको छ । घाइतेलाई काठमाडौँका अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको र अन्य यात्रुहरूलाई सुरक्षित स्थानमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।

















