Logo

४ चैत्र, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नवनिर्वाचित सांसदहरूलाई जनताको तीव्र अपेक्षा र समयको चापलाई बुझेर काम गर्न कडा निर्देशन दिनुभएको छ ।

ललितपुरको ग्वार्कोमा आयोजित दुई दिने विशेष अभिमुखीकरण कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्दै लामिछानेले नयाँ पुस्ता र मतदाताले अब ढिलासुस्ती स्वीकार नगर्ने स्पष्ट पार्नुभयो । उहाँले पुराना राजनीतिक दलहरूलाई नेपाली जनताले साढे तीन दशकसम्म धैर्यताका साथ कुरेको भए तापनि आफ्नो पार्टीका हकमा भने त्यो छुट नभएको भन्दै संसद् र सडकमा निकै संयमित र उत्तरदायी भएर प्रस्तुत हुन आग्रह गर्नुभयो ।

सभापति लामिछानेले आफ्ना सांसदहरूलाई सचेत गराउँदै भन्नुभयो, ‘जनताले पुराना दललाई ३५ वर्ष कुरे, तर हामीलाई २६ महिना त परै जाओस्, २६ दिन पनि कुर्नेवाला छैनन् । ‘उहाँले जनताले दिएको भारी मत र जिम्मेवारीको गहिराइलाई प्रत्येक पल महसुस गर्नुपर्नेमा जोड दिनुभयो। नयाँ राजनीतिक शक्तिका रूपमा रास्वपामाथि जनताको ठूलो भरोसा रहेको र सानो गल्तीले पनि जनविश्वास डगमगाउन सक्ने भन्दै उहाँले पदको गरिमा जोगाएर काम गर्न निर्देशन दिनुभएको हो ।

यो अभिमुखीकरण कार्यक्रमले रास्वपाका नवनिर्वाचित प्रतिनिधिहरूलाई संसदीय अभ्यास र जनसेवाको मार्गचित्र कोर्न सघाएको छ । लामिछानेको यो कडा र भावपूर्ण सम्बोधनले रास्वपा अब संसद्मा केवल उपस्थितिका लागि मात्र नभई, परिणाममुखी कामका लागि तीव्र दबाबमा रहेको संकेत गरेको छ ।

जनताको धैर्यताको बाँध टुट्न सक्ने जोखिमलाई औँल्याउँदै उहाँले निर्वाचन पछिको यो समयलाई ुहनिमुन पिरियडु का रूपमा नलिन समेत आफ्ना सांसदहरूलाई सचेत गराउनुभएको छ ।


सम्बन्धित समाचार