४ चैत,वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म वीरगञ्जले काठमाडौँतर्फ लैजाँदै गरेको यात्रुवाहक बसबाट करिब ६ लाख २६ हजार रुपैयाँ बराबरका अवैध औषधि बरामद गरेको छ।
गएराति सशस्त्र प्रहरी निरीक्षक निरज थापाको नेतृत्वमा खटिएको मोबाइल गस्ती टोलीले वीरगञ्ज महानगरपालिका–१६ स्थित बसपार्क क्षेत्रमा बसहरूको नियमित जाँच गर्ने क्रममा उक्त सामग्री फेला पारेको हो।
जाँचका क्रममा बिलविजक नभएका सिल्डिनाफिल ट्याब्लेट २१०१ पत्ता, प्रेगआउट किट २६७ पत्ता र एरोसल स्प्रे १२५ वटा बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। प्रारम्भिक विवरण अनुसार यी औषधिहरू यौनवर्धक र अनिश्चित गर्भ रोक्ने प्रकारका रहेका छन्।
गुल्मका गुल्मपति डीएसपी विकास अधिकारीका अनुसार, “बरामद औषधिहरू आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाउन वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।”
सशस्त्र प्रहरीले पछिल्लो समय सीमावर्ती क्षेत्रमा अवैध तस्करी नियन्त्रणका लागि निगरानी अझ कडा पार्दै आएको बताइएको छ।

















