४ चैत,वीरगञ्ज । पर्सा जिल्लाको वी.मा.न.पा. वडा नं. १६ की पिडिता खुश्बू श्रीवास्तवले आफ्नो र परिवारजनमाथि बारम्बार कुटपिट र धम्की भएको आरोप लगाउँदै प्रहरी प्रशासन मौन रहेको विषयमा प्रेस वक्तव्य जारी गरेकी छिन्। उनले प्रहरी प्रशासनको निष्क्रियता र बारम्बार हुने आक्रमणका घटनालाई लिएर न्याय खोज्न कठिनाइ भएको बताइन्।
पिडितका अनुसार, साविक भारतको विहार राज्यका चनपटिया निवासी र केही वर्षदेखि नेपालमा बसोबास गर्दै आएका प्रशुराम प्रसाद साह, निर्मला गुप्ता र निरज गुप्ताले उनी र उनका परिवारजनमाथि बारम्बार शारीरिक आक्रमण र धम्की दिँदै आएका छन्। पिडितले भनिन् कि विपक्षीहरूसँग कुनै प्रकारको व्यक्तिगत रिस, राग वा विवाद नभए तापनि विगतका केही घटनालाई आधार मान्दै उनि र उनका परिवारजनमाथि बारम्बार कुटपिट भइरहेको छ उनले भनिन्।
उनका अनुसार प्रहरीले केही समय अगाडी निज आरोपी गुप्ताको घरमा छापामारी गरी अबैध भंसार छलिको मालसमान र भारतीय नम्बरको चार(पाङ्ग्रे गाडी समेत बरामद गरेको थियो । छापामारी आफूहरुलेनै गराएको आरोप लगाउदै २०८२/३/२९ गते मेरो घरमा आई गालीगलौजगर्दै आफूहरुमाथि आक्रमण गर्दा श्रीमानको दाहिने कानको श्रवण क्षमता ७०% हराएको श्रीवास्तवले बताईन् ।
पिडितले जाहेरी दर्ता गर्दा समेत प्रहरी प्रशासनले तत्काल छानविन नगरेको आरोप लगाएकी छिन्। उनी भन्छिन्, “जिल्ला प्रहरी कार्यालय पर्सामा गई मुद्दा दर्ता गर्दा समेत हाम्रो घटनामा आवश्यक अनुसन्धान भएको छैन। प्रहरी प्रशासनले दोषीहरूसँग साटघाट गरेको र हामीलाई अझ पिडित बनाएको अनुभव भयो।”
उच्च अदालत जनकपुर अस्थायी इजलास चिनीमिल वीरगञ्जले पिडितको पक्षमा प्रमाआदेश जारी गरेको मिति २०८२/८/२२ थियो। तर विपक्षीहरूले यो कुरा थाहा पाउनासाथ पुनः दोस्रो पटक पिडितको घरमा प्रवेश गरी बारम्बार कुटपिट गरेका थिए।
यस क्रममा इट र ढुङ्गा प्रहार गर्दा श्रीमानको दाहिने करयाङ्गमा चोट लागेको थियो। वृद्ध ससुरा बुवाले श्रीमानलाई बचाउन खोज्दा उनको पनि दाहिने हातमा चोट लागेको थियो। पिडितले भनिन् कि यस्तो घातक आक्रमणको बावजुद पनि प्रहरी प्रशासनले तत्काल प्रभावकारी कदम उठाएको थिएन।
घटनापछि पिडित परिवार बसपार्क प्रहरी चौकी पुगेका थिए। चौकीका इन्चार्जले उनलाई नारायणी अस्पताल पठाएर औषधि उपचार र घाउको जाँच फारम तयार गरी जिल्ला प्रहरी कार्यालयमा निवेदन पेश गर्न निर्देशन दिएका थिए।
पिडितले प्रहरी कार्यालयहरूमा घाइते प्रमाण देखाएर मुद्दा दर्ता र छानविनको माग गरे पनि, उनका अनुसार वडा प्रहरी कार्यालय बिर्ता र जिल्ला प्रहरी कार्यालय पर्साले आवश्यक अनुसन्धान गर्न समयमै कदम चाल्न सकेन।
२०८२ माघ २६ गते जि.प्र.का. पर्साका प्रमुखसँग भेट हुँदा उनीहरूले डि.एस.पी.साबलाई पिडितको निवेदन छानबिन गर्न निर्देशन दिन आदेश दिएका थिए। तर पिडितले भनेकी छिन् कि आजसम्म उक्त निर्देशन अनुसार अनुसन्धान नभएको अवस्था छ।
पिडित खुश्बू श्रीवास्तवले बारम्बार कुटपिट, घरमा अवरोध र प्रशासनिक निष्क्रियताप्रति सवाल उठाउँदै न्याय खोज्ने आवाज उठाएकी छिन्। उनले प्रहरी प्रशासनमाथि प्रश्न उठाइन् कि यदि पिडितसँग कुटपिट र दुरव्यवहार भइरहेको छ भने किन प्रशासन मौन छ र विदेशी नागरिकहरू देश कब्जा गरेकै जस्तो व्यवहार भइरहेको छ। यो घटनाले स्थानीय स्तरमा सुरक्षा, सार्वजनिक न्याय प्रक्रिया र प्रहरी प्रशासनको प्रभावकारितामा गम्भीर प्रश्न खडा गरेको छ।

















