Logo

४ चैत,वीरगञ्ज । पर्सा जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलहरूले प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनोज कुमार चौधरीसँग सम्बन्धित घटनाबारे निष्पक्ष र छिटो अनुसन्धान गर्न माग गरेका छन्।

नेपाली कम्युनिष्ट पार्टी पर्साको आयोजनामा चैत्र ३ गते बसेको सर्वदलीय बैठकपछि जारी संयुक्त प्रेस विज्ञप्तिमा उक्त घटनाले गम्भीर प्रश्न उठाएको उल्लेख गरिएको छ। विज्ञप्तिमा चौधरीलाई मिलनसार, सक्रिय तथा जिम्मेवार राजनीतिक व्यक्तित्वका रूपमा चित्रण गरिएको छ।

विज्ञप्ति अनुसार, २०८२ फागुन १९ गते साँझ वीरगञ्ज फर्किने क्रममा सुरक्षा जाँचका बेला चौधरी सवार गाडीको डिकीबाट शंकास्पद वस्तु फेला परेको भन्दै प्रहरीले उनलाई सहित चार जनालाई नियन्त्रणमा लिएको थियो।

तर, घटना भएको १६ दिन बितिसक्दा पनि उक्त वस्तु के थियो, कसले राख्यो र किन राखियो भन्ने विषय स्पष्ट नभएको भन्दै दलहरूले चिन्ता व्यक्त गरेका छन्।

दलहरूले प्रतिनिधिसभा उम्मेदवारकै गाडीमा विस्फोटक पदार्थ राखिएको भनिएको विषय अस्वाभाविक भएको उल्लेख गर्दै यसमा षड्यन्त्रको सम्भावना रहेको आशंका गरेका छन्। साथै, घटनाको भोलिपल्ट अर्को स्थानमा फेला परेको वस्तुसँग जोडेर घटनालाई जटिल बनाउने प्रयास भइरहेको संकेत गरिएको छ।

अनुसन्धान प्रक्रियामा अनावश्यक ढिलाइ भइरहेको भन्दै दलहरूले यसले मनोवैज्ञानिक दबाब सिर्जना गरी निर्दोष व्यक्तिलाई फसाउने जोखिम रहेको बताएका छन्। “ढिलो गर्नु न्याय नदिनु सरह हो,” भन्दै विज्ञप्तिमा तत्काल निष्पक्ष छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न माग गरिएको छ।

संयुक्त विज्ञप्तिमा विभिन्न दलका नेताहरूले हस्ताक्षर गरेका छन्। उनीहरूले आवश्यक परे थप कदम चाल्न बाध्य हुने चेतावनी पनि दिएका छन्।

यसैबीच, सर्वदलीय प्रतिनिधिमण्डलले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालसँग भेट गरी घटनाबारे छलफल गरेको छ। उक्त भेटमा पर्सा प्रहरी प्रमुख सुदिप राज पाठकको पनि उपस्थिति रहेको थियो।

घटनाले पर्सामा राजनीतिक, सुरक्षा तथा अनुसन्धान प्रक्रियामाथि थप बहस सिर्जना गरेको छ।


सम्बन्धित समाचार