५ चैत्र, काठमाडौं । वैदेशिक रोजगारीको आकर्षक प्रलोभनमा परेर कम्बोडियाको ‘साइबर स्लेभ’ (डिजिटल दासता) मा फसेका २० जना नेपाली युवा अन्ततः सरकारी र सामाजिक संस्थाको पहलमा शुक्रबार सुरक्षित रूपमा स्वदेश फर्किएका छन् ।
थाइल्याण्डको बैंककस्थित नेपाली दूतावास, कम्बोडिया सरकार र गैरआवासीय नेपाली संघ कम्बोडियाको त्रिपक्षीय समन्वयमा उनीहरूको उद्धार सम्भव भएको हो । काठमाडौं ओर्लिएका यी युवाहरू अनलाइन स्क्यामिङ, अवैध क्यासिनो र भिसाको म्याद सकिएर अलपत्र अवस्थामा रहेका थिए ।
पछिल्ला केही वर्षयता दक्षिणपूर्वी एसियाली मुलुकहरूमा नेपाली युवाहरूको बहाव अस्वाभाविक रूपमा बढेको सरकारी तथ्याङ्कले देखाउँछ । सन् २०२१ मा मात्र १०१ जना नेपाली कम्बोडिया पुगेकोमा सन् २०२५ सम्म आइपुग्दा यो सङ्ख्या झण्डै ९ हजार ७ सय पुग्नुले मानव तस्करहरूको सक्रियता पुष्टि गर्दछ । पर्यटक भिसामा पुगेका सोझा युवाहरूलाई मोटो कमाइको प्रलोभन देखाई अनलाइन ठगी र अवैध कार्यमा लगाउने गिरोह नै सक्रिय रहेको भन्दै दूतावासले चिन्ता व्यक्त गरेको छ ।
अझै पनि केही नेपालीहरू त्यहाँका विभिन्न केन्द्रहरूमा कष्टकर अवस्थामा रहेको र उनीहरूको खोजी तथा उद्धार प्रक्रिया जारी रहेको दूतावासले जनाएको छ ।
यसैबीच, नेपाली दूतावासले थाइल्याण्ड, लाओस, म्यानमार र कम्बोडिया जस्ता मुलुकहरूमा जानुअघि विशेष सावधानी अपनाउन अपिल गरेको छ । कुनै पनि व्यक्ति वा एजेन्सीको प्रलोभनमा नपरी सरकारले तोकेको मापदण्ड र श्रम स्वीकृति लिएर मात्र वैदेशिक यात्रा तय गर्न आग्रह गरिएको छ । अलपत्र परेका नेपालीहरूलाई तत्काल बैंककस्थित दूतावास वा एनआरएनए कम्बोडियाका प्रतिनिधिहरूलाई सम्पर्क गर्न समेत सूचित गरिएको छ ।

















