५ चैत्र, काठमाडौं । इरानसँगको बढ्दो सैन्य तनावका बीच अमेरिकी रक्षा विभाग (पेन्टागन) ले ह्वाइट हाउससँग २०० अर्ब अमेरिकी डलरभन्दा बढीको विशाल रक्षा बजेट माग गरेको छ ।
प्रतिष्ठित अखबार ‘वासिङ्गटन पोस्ट’ ले उच्च प्रशासनिक अधिकारीलाई उद्धृत गर्दै सार्वजनिक गरेको समाचार अनुसार, पेन्टागनले पछिल्ला दुई हप्तामा विभिन्न चरणमा यो थप रकमको माग पेश गरेको हो । इरानसँग सम्भावित युद्धको तयारी र हालसम्म भएका सैन्य अभियानहरूको लागतभन्दा यो रकम निकै गुणा बढी रहेको बताइएको छ ।
विशेषगरी युद्धका क्रममा खपत भइसकेका हतियारहरूको मौज्दात परिपूर्ति गर्न र अत्याधुनिक सैन्य उपकरणहरूको उत्पादनलाई तीव्रता दिन यो बजेट केन्द्रित रहने देखिएको छ ।
पेन्टागनको यो प्रस्तावले अमेरिकी राजनीतिक वृत्तमा भने ठूलो हलचल पैदा गर्ने निश्चित देखिएको छ। अमेरिकी कांग्रेसमा यो विषयले सत्तापक्ष र प्रतिपक्षबीच ठूलो राजनीतिक टकराव निम्त्याउन सक्ने विश्लेषण गरिएको छ । खर्च वृद्धिको यो मागले बजेट पारित गर्ने प्रक्रियामा जटिलता थप्ने अनुमान गरिए पनि पेन्टागन र ह्वाइट हाउस दुवैले यसबारे आधिकारिक प्रतिक्रिया दिन भने हाललाई अस्वीकार गरेका छन् ।
क्षेत्रीय सुरक्षाको नाममा मागिएको यो विशाल बजेटले आगामी दिनमा मध्यपूर्वको भू-राजनीति र अमेरिकी अर्थतन्त्रमा कस्तो असर पार्छ भन्ने विषय अहिले चासोको केन्द्र बनेको छ ।

















