Logo

५ चैत,माडी। चितवन, माडी नगरपालिका–७ देवेन्द्रपुरस्थित परुरी खोलानजिकको चेपाङ बस्तीमा मिति २०८२ चैत ०४ गते बुधबार दिउँसो करिब ३ बजे ग्यास सिलिन्डर पड्किँदा भएको आगलागीले बस्तीमा रहेका ३ घरमा क्षति पुर्‍याएको छ।

आगलागीबाट घरहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने मानवीय क्षति भने नभएको स्थानीयले जनाएका छन्।आगलागीका कारण अनेस प्रजाको घर, गोठ, एक भैंसीको पाडो तथा अन्नसमेत जलेर नष्ट भएको छ भने विश्राम प्रजाको गोठ, भान्सा तथा घरको छानोसमेत क्षतिग्रस्त भएको छ।

आर्को घरको पालीमा क्षेती पुगेको छ । आगलागीपछि प्रभावित परिवारहरूसँग शरीरमा लागेको लत्ताकपडा बाहेक अरू केही पनि बाँकी नरहेको पीडितहरूले बताएका छन्।स्थानीयका अनुसार आगलागी घरभित्रको किचनबाट सुरु भई केही समयमै तीव्र रूपमा फैलिएको थियो। आगो नियन्त्रणका लागि छरछिमेकी, स्थानीयवासी तथा माडी नगरपालिकाको दमकलको सहयोगमा निकै प्रयासपछि नियन्त्रणमा लिइएको थियो।

२०७७ सालमा माडी नगरपालिकाले वडा नम्बर ९ कुसुम खोलाबाट स्थानान्तरण गरी यस चेपाङ बस्तीलाई देवेन्द्रपुरमा बसोबास गराएको थियो। तर, हालसम्म पनि त्यहाँ बसोबास गर्ने परिवारहरूले जग्गाको लालपुर्जा प्राप्त गर्न सकेका छैनन्, जसका कारण उनीहरूको बसोबास अवस्था अझै अस्थिर रहेको देखिन्छ।

घटनास्थलमा स्थलगत रूपमा पुगेर बुझ्दा, आगलागीपछि घरबारविहीन बनेका चेपाङ परिवारहरू अहिले छिमेकीको घरमा आश्रय लिन बाध्य भएका छन्। दैनिक खानपानदेखि आधारभूत आवश्यकतासम्म पूरा गर्न उनीहरू अरूकै सहारामा निर्भर रहनुपरेको अवस्था छ।

घटनापछि नेपाल रेडक्रस सोसाइटी माडी उपशाखाले प्रभावित परिवारलाई केही लत्ताकपडा तथा आवश्यक राहत सामग्री वितरण गरेको जनाएको छ।आगलागीबाट प्रभावित चेपाङ समुदाय अहिले अस्थायी सहारामा जीवन यापन गर्न बाध्य बनेका छन् भने पुनःस्थापनाको प्रतीक्षामा रहेका छन्।


सम्बन्धित समाचार