५ चैत्र, काठमाडौँ । फागुन २१ गते सम्पन्न ऐतिहासिक निर्वाचनपछि मुलुकको संसदीय राजनीतिले नयाँ मोड लिँदै गर्दा समानुपातिक प्रणालीमार्फत चुनिएका जनप्रतिनिधिहरूले बिहीबार औपचारिक रूपमा आफ्नो पदको प्रमाणपत्र प्राप्त गरेका छन् ।
निर्वाचन आयोगको कार्यालयमा आयोजित विशेष समारोहमा पुगेर विभिन्न ६ राजनीतिक दलका सांसदहरूले विजयको आधिकारिक दस्ताबेज बुझेका हुन् । यस पटकको निर्वाचन परिणामले संसद्को शक्ति सन्तुलनमा व्यापक फेरबदल ल्याएको छ, जहाँ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले समानुपातिकतर्फ मात्रै ५७ सिट जितेर सदनमा आफ्नो अभूतपूर्व दबदबा कायम गरेको छ ।
प्रमाणपत्र वितरण कार्यक्रममा नेपाली कांग्रेसका २०, नेकपा एमालेका १६ र नेपाली कम्युनिस्ट पार्टीका ९ जना समानुपातिक सांसदहरू सहभागी थिए। त्यस्तै, उदाउँदो शक्तिका रूपमा देखिएका श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४÷४ जना सांसदहरूले पनि निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेका छन्। आयोगले मत परिणाम र समावेशी क्लस्टरका आधारमा अन्तिम नामावली प्रमाणीकरण गरेसँगै यी सांसदहरूलाई सदन प्रवेशको बाटो खुलेको हो। प्रत्यक्ष र समानुपातिक दुवैतर्फको परिणामलाई हेर्दा रास्वपा १८२ सिटसहित पहिलो शक्तिको रूपमा उदाएको छ भने कांग्रेस ३८ र एमाले २५ सिटमा खुम्चिएका छन् ।
निर्वाचन आयोगबाट प्रमाणपत्र बुझेसँगै अब नयाँ संसद्को अधिवेशन आह्वान र सांसदहरूको शपथ ग्रहणको प्रक्रिया अगाडि बढ्नेछ। नयाँ अनुहार र वैकल्पिक शक्तिहरूको बाहुल्यता रहेको यो संसद्ले मुलुकको नीति निर्माण र राजनीतिक स्थिरतामा कस्तो भूमिका खेल्छ भन्ने आम चासोको विषय बनेको छ । बिहीबार प्रमाणपत्र लिने क्रममा सांसदहरू उत्साहित देखिन्थे भने आयोगले पनि छिटपुट विवादका बीच निर्वाचनको एउटा महत्वपूर्ण अध्याय शान्तिपूर्ण रूपमा सम्पन्न भएको सन्देश दिएको छ ।

















