Logo

६ चैत,वीरगञ्ज । बाराको सदरमुकाम कलैयास्थित मुख्य सडक निर्माण कार्य पुनः अलपत्र परेको छ। मनमत–कलैया–मटिअर्वा सडकखण्ड अन्तर्गत कलैयाको मुख्य भाग स्तरोन्नति गर्ने जिम्मा पाएको निर्माण कम्पनीले दोस्रो पटक थपिएको म्यादभित्र पनि काम सम्पन्न गर्न नसकेको हो।

सार्वजनिक खरिद नियमावलीको १३औँ संशोधनका आधारमा थपिएको पछिल्लो म्याद २०८२ चैत ४ गते सकिएको छ। सप्तकोशी जलाधार/ओम साई एण्ड कम्पनी जे.भी. ले निर्माणको जिम्मा लिएको उक्त आयोजनाको कुल ठेक्का रकम २२ करोड ३१ लाख ८६ हजार ३१८ रुपैयाँ (भ्याटसहित) रहेको छ।

२०७८ पुस २७ गते सम्झौता भएको योजना सुरुमा २०७९ माघ १ भित्र सम्पन्न हुनुपर्ने थियो। तर पटक–पटक म्याद थपिए पनि हालसम्म भौतिक प्रगति मात्र २३ प्रतिशत र वित्तीय प्रगति २१.४७ प्रतिशतमा सीमित रहेको तथ्याङ्कले देखाउँछ।

हालको अवस्थाअनुसार संस्कार एफएमदेखि भरत चोकसम्म नाला निर्माण गरिएको भए पनि अन्य खण्डमा काम अत्यन्त सुस्त छ। सितलपुर क्षेत्रमा नालाको काम सकिएको छ भने भरत चोकदेखि दुर्गा माविसम्म आंशिक निर्माण मात्र भएको छ। सबैभन्दा महत्वपूर्ण मानिने सडक कालोपत्रे गर्ने काम भने अझै सुरु हुन सकेको छैन।

निर्माणमा ढिलासुस्तीका कारण कलैयाको व्यापारिक गतिविधि र जनजीवन प्रभावित भएको छ। धुलो, हिलो र अव्यवस्थित सडकका कारण सर्वसाधारण आवतजावतमा सास्ती खेपिरहेका छन् भने व्यवसायीहरू ग्राहकको आवागमन घट्दा मारमा परेका छन्। स्थानीयवासीले पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि ठोस पहल नभएको गुनासो गरेका छन्।

यता, हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्ज ले भने अब उक्त कम्पनीलाई थप म्याद नदिने स्पष्ट पारेको छ।


सम्बन्धित समाचार