७ चैत,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा नागरिक स्वतन्त्रता र सामाजिक न्यायका लागि भएका प्रत्येक सङ्घर्षमा मधेसी समुदायको भूमिका ऐतिहासिक र महत्त्वपूर्ण रहेको बताएका छन्।
मधेसी आयोगको सातौँ वार्षिक उत्सव तथा स्थापना दिवसको अवसरमा शनिबार राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले, स्वतन्त्रता, समभाव, सामाजिक न्याय, सुशासन, विकास र राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्नु सबै नेपालीको साझा चाहना भएको बताए।
राष्ट्रपति पौडेलले भने, “यो चाहनालाई आत्मसात गरेर अघि बढ्नु आजको मुख्य आवश्यकता हो। हालै सम्पन्न निर्वाचनमार्फत नेपाली जनताले अभिव्यक्त गरेको राष्ट्र निर्माणको दायित्व पूरा गर्न सबै पक्षलाई आह्वान गर्दछु।”
उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक विविधताले सम्पन्न राष्ट्र भएको भन्दै, मधेसी समुदायले यस विविधताभित्र राष्ट्र निर्माणमा पुर्याएको योगदानलाई महत्व दिएका छन्। राष्ट्रपति पौडेलले आयोगले विगत सात वर्षमा मधेसी समुदायको पहिचान र अधिकारको संरक्षणमा गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा यसलाई अझ उचाइमा पुर्याइने विश्वास व्यक्त गरे।
राष्ट्रपतिले भने, “ऐतिहासिक रूपमा केही समुदायहरू—विशेषगरी मधेसी समुदाय—राजनीतिक, सामाजिक र आर्थिक अवसरबाट वञ्चित रहँदै आएको यथार्थलाई स्वीकार गर्दै मधेसी आयोग स्थापना गरिएको हो। आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा मधेसी समुदायका हकहितको संरक्षण, सम्बर्द्धन र सशक्तीकरणका लागि ठोस सिफारिसहरू समावेश छन्, जसले समस्या पहिचान गरी समाधानको मार्ग निर्देश प्रदान गर्दछ।”

















