Logo

६ बैशाख, सेढवा पर्सा । पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेको दुधेश्वर महादेव मन्दिर रामभौरी भाठामा लागेको मेला सम्पन्न भएको छ । हरेक वर्ष जस्तै बैशाख कृष्णपक्ष क्रियोदशीका दिन दुधेश्वर महादेव मन्दिरमा बिहानैदेखि भक्तजनहरुको भिड लागेको थियो ।

मेलामा पर्सा, बारा, रौतहट तथा भारतको बिहार राज्यका विभिन्न स्थानबाट भक्तजनहरुको भिड लागेको हो । भक्तजनहरुले भगवान शिवलाई जल, अक्षता, फूल, प्रसाद, धुप तथा अगरबत्ती लगायतका पूजाका सामग्री चढाई पूजा आराधना गरेका थिए ।

मेलामा भाकल अनुसार अष्ठजाम, भगवान शिवको आराधना गरि ठाउँठाउँमा पूजा आराधाना गरिएको थियो । चर्म रोग भउका मानिसहरुलाई निको हुदाँ
उनीहरुले सवा भार भण्टा चढाउने प्रचलन समेत रहेको छ ।

मानव बस्तीभन्दा करिब १७ किलोमिटर जंगलभित्र रहेको भाठा पहाडस्थित यस मन्दिरमा दर्शन गर्न भारतिय धार्मीक पर्यटकहरु आउने गरेका छन् । जंगल, पहाड तथा खोलाको रमणीय दृष्य हेर्न पर्यटकहरुको घुइँचो लाग्ने गर्दछ ।

गतवर्ष जंगल प्रवेशका लागि निकुञ्ज प्रशासनले सोनवर्षाको नाका मात्र खोले पनि यस पटक भने दुई वटा नाका खुल्ला गरेको सुनाखरी वन उपभोक्ता समितिका अध्यक्ष भिमबहादुर पाख्रिनले बताउनुभयो ।

लामो समयदेखि बन्द रहेको ठोरी गाँउपालिकास्थित गडुवा लाईन पोष्ट नाका खुल्ला गरिएको र सो नाका भएर चारभैया पोष्टमा पुग्ने व्यवस्था गरिएको पाख्रिनको भनाई छ । चारभैयाबाट मन्दिरसम्म एउटै बाटो प्रयोग गरी जाने व्यवस्था रहेकाले बाटोमा निकै भिड देखिएको थियो ।

सोमबार बिहानदेखि नै भाठा जाने भक्तजनहरुको लर्को लागेको थियो । भारतिय भक्तजन भने ठोरी, बलुवा, जानकीटोला, भिस्वा र वीरगञ्ज नाका भएर नेपाल प्रवेश गरेका थिए । भने उनीहरुको रातीको बाँस भाठा खोला, धर्मशाला, तथा जिराभवानी, पटेर्वासुगौली र ठोरीका मठमन्दिर र विद्यालयमा थियो ।


सम्बन्धित समाचार