८ चैत,काठमाडौं । ललितपुरमा रहेको होसना इट्टाभट्टाको पर्खाल भत्किँदा आइतबार एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रका अनुसार मृत्यु हुनेको नाम तिल्सरी खड्का हो, जो रुकुम घर भएकी ५५ वर्षीया महिला हुन्।
घाइते हुनेमा रुकुमकी २७ वर्षीया जानकी चन्द, सल्यानकी २७ वर्षीया शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीया नन्दकुमारी मगर र दाङकी १९ वर्षीया सुमा कुमाल रहेका छन्। उनीहरूलाई उपचारका लागि मेसडसिटी अस्पतालमा लगिएको छ।
घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको र थप विवरण आउन बाँकी रहेको बताइएको छ।




















