Logo

८ चैत,काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा भोगेको पराजयको मुख्य कारण पार्टीभित्रकै आन्तरिक समस्या रहेको प्रारम्भिक निष्कर्ष निकालेको छ। नेपाली कांग्रेस को केन्द्रीय कार्यसमिति बैठक सानेपास्थित पार्टी कार्यालयमा जारी रहँदा प्रवक्ता देवराज चालिसे ले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो जानकारी दिएका हुन्।

उनका अनुसार, कांग्रेसले पराजित भएका अधिकांश निर्वाचन क्षेत्रहरूको मतान्तर विश्लेषण गर्दा अपेक्षित मत नआउनुको प्रमुख कारण आन्तरिक व्यवस्थापन कमजोरी देखिएको छ। साथै, निर्वाचन अभियान (क्याम्पेनिङ) का क्रममा भएका त्रुटिहरू पनि पराजयका कारणका रूपमा देखिएको उनले बताए।

बैठकमा संगठनात्मक कमजोरी मात्र नभई कतिपय क्षेत्रमा पार्टीप्रति जनताको विश्वासमा समेत कमी आएको निष्कर्ष निकालिएको चालिसेको भनाइ छ। उनले भने, “पार्टीका क्रियाशील सदस्य संख्या बढ्दै जाँदा पनि मत घट्नुले गम्भीर संकेत दिएको छ, जसलाई तथ्यमा आधारित भएर विश्लेषण गरिनेछ।”

प्रवक्ता चालिसेले निर्वाचन परिणामबारे तयार गरिएका आन्तरिक प्रतिवेदन तथा विभिन्न जिल्लाबाट आएका रिपोर्टहरूलाई समेटेर गहिरो अध्ययनपछि मात्र अन्तिम निष्कर्ष निकालिने जानकारी दिए। साथै, आगामी दिनमा पार्टीलाई पुनः सुदृढ गर्दै नयाँ ऊर्जा र रणनीतिसहित अघि बढ्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।


सम्बन्धित समाचार