Logo

९ चैत, वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकामा पछिल्लो समय नगर प्रशासन र विभिन्न तहबाट संस्थागत रूपमा ठगी धन्दा फस्टाउँदै गएको भन्दै स्थानीय स्तरमा तीव्र आक्रोश व्यक्त गरिएको छ । विशेषगरी बेरोजगार युवा र आम नागरिकलाई विभिन्न बहानामा आर्थिक शोषण गरिएको भन्दै राष्ट्रिय मुक्ति पार्टी नेपालले गम्भीर ध्यानाकर्षण गराएको छ ।

नेपाली कांग्रेस र नेकपा एमाले जस्ता प्रमुख दलहरूको कार्यपालिकामा प्रतिनिधित्व रहे तापनि जनताको हितविपरीतका गतिविधिहरू नरोकिएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । पटक–पटक ध्यानाकर्षण गराउँदा समेत सम्बन्धित निकायले ठोस पहल नगरेको भन्दै सो पार्टीका सह-महासचिव नेजामुद्दीन शमानीले प्रेस विज्ञप्तिमार्फत गम्भीर आरोपहरू सार्वजनिक गरेका छन् ।

विज्ञप्तिमा उल्लेख भएअनुसार नगरपालिकामा जागिर लगाइदिने प्रलोभन देखाई सर्वसाधारणबाट मोटो रकम असुल्ने गरिएको छ । “लामो समय काम गराएर पछि हटाउने र हालसम्म पनि तलब नदिई युवाहरूको श्रम र पसिनामाथि खेलबाड गरिएको छ,” सह-महासचिव शमानीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

त्यसैगरी, कर वृद्धिको नाममा पनि नागरिकमाथि चर्को आर्थिक भार थपिएको दाबी गरिएको छ । नियमको बहाना बनाएर अनावश्यक शुल्क असुली गर्ने र पहिले ३०० रुपैयाँ लाग्ने गरेको सम्पत्ति करलाई ह्वात्तै बढाएर १५०० रुपैयाँ पुर्‍याइएकोप्रति कडा विरोध जनाइएको छ । आन्दोलनपछि १० प्रतिशत मात्रै कर घटाइनुले जनतालाई न्याय नहुने आन्दोलनकारीहरूको ठहर छ ।

नगर विस्तार र विकास योजनाका नाममा पनि स्थानीयबाट रकम उठाउने र भ्रम सिर्जना गर्ने काम भइरहेको आरोप लगाइएको छ । विशेषगरी विकास योजनाहरूको डिपिआर तयार गर्ने प्रक्रियामा व्यापक आर्थिक अनियमितता र बजेटको दुरुपयोग भएको दाबी शमानीको छ । सार्वजनिक बजेटलाई प्रभावकारी काममा लगाउनुको साटो कार्यकर्ता पोस्ने र व्यक्तिगत लाभ लिने काममा प्रयोग गरिएको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय मुक्ति पार्टीले उक्त अनियमितताको विषयमा तत्काल निष्पक्ष र पारदर्शी छानबिन गर्न सरकारसँग माग गरेको छ । दोषी ठहर भएकाहरूलाई कडा कानुनी कारबाही गर्न, ठगीका सिकार भएकाहरूलाई उचित क्षतिपूर्ति दिन र कर प्रणालीलाई न्यायोचित बनाउन पाँचबुँदे माग अघि सारिएको छ ।

“अब चुप लागेर बस्ने समय छैन, भ्रष्टाचार र ठगीका विरुद्ध एकजुट भएर आवाज उठाउन आवश्यक छ,” सह-महासचिव शमानीले भने । आगामी दिनमा यस्ता गतिविधि नरोकिए र अनुगमन व्यवस्था कडा नबनाइए सशक्त आन्दोलनमा होमिने चेतावनी समेत शमानीले दिएका छन् ।


सम्बन्धित समाचार