९ चैत,चितवन ।चितवनको रत्ननगर नगरपालिका–१, निप्पनी चोकमा सोमबार दिउँसो भएको सवारी दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ।
आज करिब दिउँसो ३:३० बजे पूर्व हेटौंडा दिशाबाट आएको लु २ ख २८९४ नम्बरको तेल बोक्ने ट्याङ्करले स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार अन्दाजी ३५ वर्षीया मिना कुमारी रेग्मीको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनापछि ट्याङ्करले उनलाई केही दूरीसम्म लतार्दा उनको शरीर गम्भीर रूपमा क्षतविक्षत भएको अवस्थामा प्रहरीले मुचुल्का गरेको थियो।
प्रत्यक्षदर्शीका अनुसार ट्याङ्कर तीव्र गतिमा अनियन्त्रित रूपमा आएको थियो। केही स्थानीयले सवारी साधन सहचालकले चलाएको हुन सक्ने आशंका व्यक्त गरेका छन्। अनियन्त्रित ट्याङ्कर सडक छेउ हुँदै पसल अगाडिसम्म पुग्दा सटरअगाडि राखिएको फ्रिजमा समेत क्षति पुगेको छ।
स्थानीयका अनुसार स्कुटी एक पुरुषले चलाइरहेका थिए भने मृतक महिला पछाडि सवार थिइन्। ट्याङ्करले स्कुटीलाई केही दूरीसम्म लतार्दै लगेको र सडक छेउ उकालो स्थानमा पुगेपछि मात्र गाडी रोकिएको बताइएको छ।
सोमबार बजार बन्द हुने दिन भएकाले चहलपहल कम हुँदा ठूलो मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।




















