Logo

११ चैत,काठमाडौं ।काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मंगलबारदेखि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईसहित विभाग स्तरीय कार्यसम्पादन प्रणालीको अनुगमन सुरु गरेकी छन्।

सूचना प्रविधि विभागबाट सुरु भएको अनुगमनका क्रममा डंगोलले डेस्कमा कार्यरत अधिकारीहरूले गर्ने काम, प्रक्रिया, जिम्मेवारी, कार्यभार, कार्य वातावरण, अनुभव गरिएका समस्या र चुनौती सामना गर्ने उपायबारे जानकारी लिइन्।

कार्यवाहक डंगोलले विद्युतीय सेवाका लागि सञ्चालनमा रहेका प्रणाली, काम गर्दा सिर्जना भएका तथ्याङ्क, तथ्याङ्क विश्लेषण प्रक्रिया, भण्डारण क्षमता र सार्वजनिक गर्नु पर्ने सूचना तथा विवरणहरूको स्वतः वितरणबारे पनि जानकारी मागेकी थिइन्।

अनुगमनका क्रममा विभागीय प्रमुख अनिरुद्र नेपालले विद्यालयमा इहाजिरी कार्यान्वयन, सिसिटिभी जडान, ईहाजिरी, ईसिफारिस र ईटिप्पणीको प्रभावकारी कार्यान्वयन लगायतका प्राथमिकताका कामबारे जानकारी गराए।

महाशाखा प्रमुख अशोक श्रेष्ठले जग्गा प्रशासन र घर नम्बरिङ्सँग सम्बन्धित प्रणालीका विषयमा जानकारी दिँदै, जग्गा प्रशासन कार्यान्वयन चरणमा रहेको र घर नम्बरिङ्को काम करिब ३० दिनभित्र सम्पन्न हुने बताए।

साथै, सूचना प्रविधि अधिकृत माधव खनालले सफ्टवेयर डिभलपमेन्ट एन्ड अपरेसन सेन्टरमा भइरहेका कामको विवरण प्रस्तुत गरे।


सम्बन्धित समाचार