Logo

१२ चैत, वीरगञ्ज । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुन: भारी वृद्धि गरेको छ। निगमले बुधबार साँझ एक सूचना जारी गर्दै पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५/१५ रुपैयाँले मूल्यवृद्धि गरेको जानकारी दिएको हो ।

निगमको पछिल्लो निर्णयसँगै उपभोक्ताहरूले अब इन्धनका लागि थप महँगो शुल्क तिर्नुपर्ने भएको छ। नयाँ मूल्यसूची अनुसार काठमाडौँ उपत्यकासहितका तेस्रो वर्गका क्षेत्रहरूमा पेट्रोलको मूल्य प्रतिलिटर १८७ रुपैयाँ कायम भएको छ।

निगमले ढुवानी दूरीका आधारमा पेट्रोलियम पदार्थको बिक्री मूल्यलाई तीन वर्गमा विभाजन गरेको छ। जसअनुसार पेट्रोलको मूल्य पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज) का लागि प्रतिलिटर १८४.५० रुपैयाँ, दोस्रो वर्ग (सुर्खेत र दाङ) का लागि १८६ रुपैयाँ र तेस्रो वर्ग (काठमाडौँ, पोखरा र दिपायल) का लागि १८७ रुपैयाँ पुगेको छ। यसअघि पहिलो वर्गमा पेट्रोलको मूल्य १६९ रुपैयाँ ५० पैसा रहेको थियो।

यसैगरी, डिजेल र मट्टीतेलको मूल्यमा पनि प्रतिलिटर १५ रुपैयाँकै वृद्धि गरिएको छ। नयाँ दररेट अनुसार डिजेल र मट्टीतेल पहिलो वर्गका लागि प्रतिलिटर १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६६ रुपैयाँ र तेस्रो वर्गका लागि १६७ रुपैयाँ कायम गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै निगमले नेपालमा पनि समायोजन गरेको जनाए पनि एकैपटक १५ रुपैयाँको वृद्धिले सर्वसाधारणको भान्सा र यातायात खर्चमा प्रत्यक्ष असर पर्ने देखिएको छ ।


सम्बन्धित समाचार
भर्खरै