Logo

१२ चैत, काठमाडौँ । दार्चुला जिल्लाको मुराई आसपास केन्द्रबिन्दु भएर आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ८ बजेर ३२ मिनेटमा ४.० म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रबिन्दु मुराई क्षेत्रमा रहेकाले दार्चुलाका विभिन्न स्थानीय तहका साथै छिमेकी जिल्लाका केही क्षेत्रहरूमा समेत सर्वसाधारणले झड्का महसुस गरेका थिए । बिहानको समयमा भूकम्प गएपछि केही बेर स्थानीय बासिन्दाहरू त्रसित भएर घरबाहिर निस्किएका थिए ।

यस क्षेत्रमा पछिल्लो समय पराकम्प र साना भूकम्पहरू जाने क्रम दोहोरिरहेको छ। यसअघि गत चैत ९ गते पनि सोही स्थानलाई केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ । एक हप्ताको अन्तरालमा एउटै केन्द्रबिन्दु भएर अर्को भूकम्प जानुले यस क्षेत्रमा भूगर्भीय हलचल सक्रिय रहेको सङ्केत गरेको भूगर्भविद्हरूको भनाइ छ । यद्यपि, आजको भूकम्पबाट हालसम्म कुनै भौतिक वा मानवीय क्षतिको विवरण प्राप्त नभएको स्थानीय प्रशासनले जनाएको छ ।


सम्बन्धित समाचार
भर्खरै