१३ चैत, वीरगञ्ज । नेपालमा पुनः मौसममा आएको बदलीसँगै आज शुक्रबारदेखि देशका धेरै क्षेत्रमा वर्षा, हुरीबतास, चट्याङ र असिना पर्ने सम्भावना देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी र स्थानीय वायुको प्रभावका कारण शुक्रबार र शनिबार मौसम थप अस्थिर रहने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ ।
विभागका सूचना अधिकारी दिनकर कायस्थले बिहीबार साँझदेखि नै देशका विभिन्न भागमा बदली सुरु भएको र शुक्रबारबाट पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा वर्षा हुने जानकारी दिए ।
बिहीबार साँझ मात्रै गोरखा, सिन्धुपाल्चोक, कास्की, लमजुङ, सङ्खुवासभा, खोटाङ र नुवाकोट लगायतका जिल्लाका केही स्थानमा वर्षा भएको थियो। विभागका अनुसार यो क्रम आज रातिदेखि थप बढ्ने देखिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विशेष बुलेटिन अनुसार आज शुक्रबार देशको हिमाली भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। सबै प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थान तथा तराईका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा र उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ ।
यसैगरी शनिबार पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम पूर्णतया बदली रहने महाशाखाले जनाएको छ। कोशी, मधेस र बागमती प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी भूभागमा वर्षा र हिमपातको प्रक्षेपण गरिएको छ ।
हुरीबतास र चट्याङका कारण हुन सक्ने सम्भावित जोखिमबाट जोगिन विभागले सर्वसाधारण र सरोकारवाला निकायहरूलाई उच्च सतर्कता अपनाउन विशेष आग्रह गरेको छ ।

















