Logo

१६ चैत, जनकपुरधाम । मधेस प्रदेश सरकारकी शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले माध्यमिक शिक्षा परीक्षा (एसइई) विद्यार्थीको भविष्यसँग जोडिएको संवेदनशील विषय भएकाले यसको सञ्चालनमा कुनै पनि किसिमको लापरबाही क्षम्य नहुने बताएकी छन् ।

शिक्षा तथा संस्कृति मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित ‘एसइई-२०८२ प्रदेशस्तरीय समन्वय बैठक’लाई सम्बोधन गर्दै मन्त्री तिवारीले परीक्षालाई शान्त, व्यवस्थित र मर्यादित वातावरणमा सम्पन्न गराउन सम्बद्ध सबै निकायलाई जिम्मेवार बन्न निर्देशन दिएकी हुन् ।

परीक्षाको मर्यादा कायम राख्न यस वर्ष विशेष कडाइ गरिने स्पष्ट पार्दै मन्त्री तिवारीले परीक्षा केन्द्रमा मोबाइल फोन निषेध गरिएको जानकारी दिए । “यदि कुनै परीक्षार्थीले लुकीछिपी मोबाइल ल्याएको पाइएमा त्यसलाई जफत मात्र गरिने छैन, तत्कालै नष्ट गरिनेछ,” उनले भने ।

मन्त्री तिवारीले नियमको पूर्ण पालना गर्न विद्यार्थी तथा अभिभावकलाई अपिल गर्दै सुरक्षा व्यवस्थापन, प्रश्नपत्रको गोपनीयता र नक्कल नियन्त्रणका लागि सुरक्षा निकाय र शिक्षा प्रशासनबीच बलियो समन्वय हुनुपर्नेमा जोड दिए ।

बैठकमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल र मधेस प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाले परीक्षाको सुरक्षा मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै, मन्त्रालयका निमित्त सचिव दिलीपकुमार ठाकुर र शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक महेन्द्र महतोले प्राविधिक तयारीबारे जानकारी गराएका थिए । कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाका शिक्षा विकास समन्वय इकाइका प्रमुखहरू र राष्ट्रिय परीक्षा बोर्डका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

समन्वय बैठकले परीक्षा अवधिभर केन्द्र वरपर निषेधित क्षेत्र घोषणा गर्ने, अनुगमन टोलीलाई सक्रिय बनाउने र परीक्षामा देखिन सक्ने समस्या तत्काल समाधान गर्न द्रुत संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ । मन्त्रालयका उपसचिव उज्ज्वल पोखरेलका अनुसार प्रदेशभर परीक्षालाई निष्पक्ष र मर्यादित बनाउन सबै जिल्लामा आवश्यक तयारीलाई तीव्र पारिएको छ ।


सम्बन्धित समाचार
भर्खरै