Logo

१६ चैत, काठमाडौँ । सरकारले नेपाल राष्ट्र बैंकमा रिक्त रहेको डेपुटी गभर्नर पदमा आगामी केही दिनभित्रै नियुक्ति गर्ने तयारी थालेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलबीच आइतबार भएको विशेष भेटवार्तामा यसबारे ठोस छलफल भएको हो ।

अर्थ मन्त्रालय स्रोतका अनुसार झण्डै एक घण्टा लामो उक्त भेटमा डेपुटी गभर्नर नियुक्तिका साथै मुलुकको वर्तमान आर्थिक अवस्था, मुख्य आर्थिक सूचकाङ्कहरू र सरकारको ‘१०० दिने कार्यसूची’ का विषयमा गहन समीक्षा भएको थियो ।

सरकारले अघि सारेको १०० दिने कार्यसूचीका कतिपय कार्यक्रमहरू कार्यान्वयनका लागि राष्ट्र बैंकको प्रत्यक्ष भूमिका आवश्यक पर्ने भएकाले पनि नेतृत्व तहको रिक्तता चाँडो पूर्ति गर्नुपर्ने दबाबमा सरकार छ ।

यसअघि पूर्व अर्थमन्त्री रामेश्वर खनालकै कार्यकालमा डेपुटी गभर्नरको पद रिक्त भएको थियो। तत्कालीन समयमा नियुक्ति प्रक्रिया सुरु गर्ने पहल भए पनि आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले अभूतपूर्व जनमत प्राप्त गरेपछि नयाँ सरकारलाई नै जिम्मेवारी दिने भन्दै उक्त प्रक्रिया रोकिएको थियो।

आइतबारको भेटमा अर्थमन्त्री वाग्ले र गभर्नर पौडेलबीच विगतमा चर्चामा रहेका र मोटामोटी सहमति भइसकेका सम्भावित नामहरूका बारेमा समेत छलफल भएको बुझिएको छ।

स्रोतका अनुसार योग्य र व्यावसायिक व्यक्तिको छनोट गर्ने विषयमा दुवै पक्ष सकारात्मक देखिएका छन्। “छिट्टै नियुक्ति प्रक्रिया अगाडि बढाउने सहमति सहित छलफल सकारात्मक रूपमा टुङ्गिएको छ,” मन्त्रालयका एक अधिकारीले बताए।

नेपाल राष्ट्र बैंक ऐन अनुसार गभर्नरको सिफारिसमा मन्त्रिपरिषद्ले डेपुटी गभर्नर नियुक्त गर्ने व्यवस्था छ। लामो समयदेखि रिक्त रहेको यो पदमा हुने नयाँ नियुक्तिले केन्द्रीय बैंकको कार्यसम्पादन र मौद्रिक नीति कार्यान्वयनमा थप गति दिने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै