Logo

१६ चैत, काठमाडौँ । नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखाकुमारी शर्मालाई नाबालिगलाई घरेलु कामदार बनाएर हिंसा र श्रम शोषण गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति करिब ११ बजे धुम्बाराहीस्थित निजी निवासबाटै उनलाई नियन्त्रणमा लिएको हो।

शर्माका श्रीमान चिन्तामणि शर्माले आइतबार राति प्रहरी टोली आएर उनलाई पक्राउ गरेको पुष्टि गरे । सांसद शर्मामाथि विगत ६ वर्षदेखि एक बालिकालाई घरमा बँधुवा मजदुरका रूपमा राखी शारीरिक र मानसिक यातना दिएको गम्भीर आरोप छ । करिब डेढ वर्षअघि काठमाडौँ महानगरपालिकाले ती बालिकाको उद्धार गर्दा उनको अवस्था अत्यन्तै दयनीय फेला परेको थियो ।

यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको समयमा सरकारी वकिल कार्यालयले शक्ति र सत्ताको प्रभावमा परी शर्माविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो। उक्त निर्णयको चौतर्फी आलोचना भएपछि राष्ट्रिय मानव अधिकार आयोगले सो फाइल झिकाएर अध्ययन सुरु गरेको थियो । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले समेत त्यतिबेला पीडित बालिकाप्रति सहानुभूति प्रकट गर्दै राज्यले पीडकलाई उन्मुक्ति दिएको भन्दै सामाजिक सञ्जालमार्फत कडा आक्रोश व्यक्त गरेका थिए ।

लामो समयको दबाब र कानुनी प्रक्रियापछि अन्ततः प्रहरीले सांसद शर्मालाई अनुसन्धानको दायरामा ल्याएको छ। प्रहरी स्रोतका अनुसार उहाँमाथि बाल श्रम निषेध र नियमन गर्ने ऐन तथा बालबालिका सम्बन्धी ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइनेछ । एमालेको तर्फबाट निर्वाचित बहालवाला सांसद नै यस्तो गम्भीर फौजदारी अभियोगमा पक्राउ परेपछि राजनीतिक वृत्तमा समेत तरङ्ग पैदा भएको छ ।


सम्बन्धित समाचार
भर्खरै