१६ चैत, नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैँडाकोटमा आज बिहानै एक भयानक त्रिपेक्षी सवारी दुर्घटना भएको छ । गैँडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै बस, ट्रक र हात्तीगाडी एकापसमा ठोक्किँदा तीनै जना चालकसहित करिब एक दर्जन व्यक्ति घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी एवम् डीएसपी अनिल पण्डितका अनुसार आज बिहान ६:४५ बजेको समयमा उक्त दुर्घटना भएको हो। नेपालगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०९१० नम्बरको बसले गैँडाकोटबाट भेडाबारीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी र सोही दिशातर्फ जाँदै गरेको बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परी बस चालक बाँकेका ४१ वर्षीय मोहनसिंह बलामी मगर, ट्रक चालक रामेछापका ३२ वर्षीय इन्द्र तामाङ र हात्तीगाडी चालक चितवनका ३३ वर्षीय दर्शन काप्री घाइते भएका छन् । प्रहरीका अनुसार हात्तीगाडी चालक काप्रीको छातीमा चोट लागेको छ भने बस र ट्रक चालकको दुवै खुट्टामा चोट लागेको छ। उनीहरूको अवस्था मध्यम रहेको र उपचारका लागि अस्पताल पठाइएको छ ।
बसमा सवार अन्य ८ देखि ९ जना यात्रुहरू समेत सामान्य घाइते भएको प्रहरीले जनाएको छ। “भाग्यवश मानवीय क्षति भएको छैन, घाइतेहरूको विस्तृत विवरण संकलन भइरहेको छ,” डीएसपी पण्डितले भने ।
दुर्घटनामा परेका तीनवटै गाडीहरू सडक किनारमै रहेकाले राजमार्गमा यातायात आवागमन भने अवरुद्ध नभएको प्रहरीले स्पष्ट पारेको छ। तीव्र गति वा प्राविधिक कारण के कारणले दुर्घटना भयो भन्नेबारे थप अनुसन्धान भइरहेको छ।

















