Logo

१९ चैत, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सफलताको अन्तिम चरणमा पुगेको घोषणा गरेका छन् । बिहीबार बिहान ह्वाइट हाउसबाट राष्ट्रका नाममा विशेष सम्बोधन गर्दै ट्रम्पले अमेरिकी सैन्य उद्देश्यहरू लगभग पूरा भएको र निकट भविष्यमै यो कार्यले पूर्णता पाउने दाबी गरे ।

सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले एक महिनाअघि सुरु भएको युद्धले इरानको सैन्य शक्तिलाई धराशायी बनाएको उल्लेख गरे । “इरानको सैन्य मेरुदण्ड भाँचिएको छ। उसको नौसेना समाप्त भएको छ भने वायुसेना भग्नावशेषमा परिणत भएको छ,” ट्रम्पले भने, “धेरैजसो शीर्ष इरानी नेताहरू मारिएका छन् र इरानको मिसाइल तथा ड्रोन प्रहार गर्ने क्षमता अहिले व्यापक रूपमा कटौती भएको छ।”

अमेरिकाले यो युद्ध जितिरहेको र यो जित इतिहासमै ठूलो हुने उनको जिकिर थियो ।

राष्ट्रपति ट्रम्पले सन् २०२५ जुनमा इरानको आणविक केन्द्रहरूलाई लक्षित गरी सञ्चालन गरिएको ‘अपरेशन मिडनाइट ह्यामर’ को सफलताको समेत चर्चा गरे । ती केन्द्रहरू पूर्ण रूपमा ध्वस्त पारिएको जानकारी दिँदै उनले पूर्व राष्ट्रपति बराक ओबामाको पालामा भएको आणविक सम्झौतालाई ‘ठूलो गल्ती’ को संज्ञा दिए । आफूले सो सम्झौता अन्त्य गरेकोमा गर्व महसुस भएको उनले बताए ।

क्षेत्रीय सुरक्षाका विषयमा बोल्दै ट्रम्पले इजरायल र खाडी मुलुकहरूको सुरक्षामा अमेरिका प्रतिबद्ध रहेको स्पष्ट पारे । यद्यपि, उनले हर्मुज जलसन्धिको सुरक्षाका लागि सहयोगी राष्ट्रहरू आफैँ अगाडि बढ्नुपर्ने र साहस जुटाउनुपर्ने बताए।

अमेरिकालाई अब मध्यपूर्वको तेल वा सुरक्षाको खाँचो नरहेको सङ्केत गर्दै उनले अमेरिकी सेना सो क्षेत्रबाट फिर्ता हुन सक्ने तर्फ इशारा गरे । “अमेरिका अब आफ्नै खुट्टामा उभिन सक्षम छ,” उनले भने ।

घरेलु राजनीति र बढ्दो इन्धनको मूल्यका लागि इरानलाई दोषी ठहर्‍याउँदै ट्रम्पले भेनेजुएलाको प्रसङ्ग समेत उल्लेख गरे । निकोलस मदुरोलाई हटाउन गरिएको सैन्य अपरेशन सफल भएपछि अहिले भेनेजुएला अमेरिकासँग व्यापारिक साझेदारका रूपमा रहेको उदाहरण दिँदै उनले इरानमा पनि उस्तै परिवर्तनको अपेक्षा राखेको देखिन्थ्यो ।

यो सम्बोधनले विश्व राजनीति र तेल बजारमा नयाँ तरङ्ग पैदा गर्ने निश्चित देखिएको छ ।


सम्बन्धित समाचार