२० चैत, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्य बढाउने निर्णय गरेको हो, जुन गएरातिदेखि नै देशभर लागू भइसकेको छ।
नयाँ मूल्य समायोजनअनुसार अब तेस्रो वर्गअन्तर्गत पर्ने काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १८२ रुपैयाँ कायम भएको छ । यसअघि यी क्षेत्रमा पेट्रोल १८७ र डिजेल/मट्टितेल १६७ रुपैयाँमा बिक्री हुँदै आएको थियो ।
यसैगरी, पहिलो वर्गमा पर्ने वीरगञ्ज, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढीमा पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १९९ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलको मूल्य १७९ रुपैयाँ ५० पैसा तोकिएको छ ।
दोस्रो वर्गअन्तर्गतका सुर्खेत र दाङमा अब पेट्रोल प्रतिलिटर २०१ रुपैयाँ र डिजेल/मट्टितेल १८१ रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेका कारण नेपालमा पनि समायोजन गर्नुपरेको तर्क गर्दै निगमले यो वृद्धिपछि पनि आगामी १५ दिनमा करिब ११ अर्ब ७१ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरेको छ । इन्धनको यो उच्च मूल्य वृद्धिसँगै बजारमा ढुवानी लागत बढ्ने र दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत चाप पर्ने देखिएको छ।

















