Logo

२१ चैत, काठमाडौँ । चर्चित हास्य कलाकार सागर लम्साल (बले) लाई प्रहरीले पक्राउ गरेको छ। बलात्कारको गम्भीर आरोप लागेपछि उनलाई शनिबार बूढानीलकण्ठ क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ।

अमेरिकामा बसोबास गर्दै आएकी एक युवतीले शुक्रबार मात्रै सामाजिक सञ्जाल र कानुनी प्रक्रियामार्फत कलाकार लम्सालमाथि बलात्कारको आरोप लगाएकी थिइन्। ती युवतीका अनुसार लम्सालले अमेरिका भ्रमणका क्रममा आफूमाथि जबर्जस्ती करणी गरेका थिए। सोही उजुरी र सार्वजनिक आरोपका आधारमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँ सम्बद्ध स्रोतले पुष्टि गरेको छ।

प्रहरीका अनुसार लम्साललाई अहिले हिरासतमा राखिएको छ र उनीमाथि लागेको आरोपबारे थप बुझ्ने काम भइरहेको छ । “बलात्कार जस्तो गम्भीर आरोप लागेपछि सत्यतथ्य बुझ्न र अनुसन्धान प्रक्रिया अगाडि बढाउन उनलाई नियन्त्रणमा लिइएको हो,” प्रहरी स्रोतले भन्यो ।

टेलिभिजन पर्दा र म्युजिक भिडियोहरूमा ‘बले’ नामबाट निकै लोकप्रिय रहेका लम्सालको पक्राउले कला क्षेत्रमा तरंग पैदा गरेको छ। प्रहरीले घटनाको प्रकृति र कानुनी प्रक्रियाबारे थप विवरण संकलन गरिरहेको र चाँडै कानुनी कारबाही अगाडि बढाइने जनाएको छ ।


सम्बन्धित समाचार