२१ चैत, काठमाडौँ । सरकारी विद्युतीय बोलपत्र प्रणाली (e-GP) ह्याक गरी अर्बौँका ठेक्का हत्याउने खेलमा संलग्न निर्माण व्यवसायीहरू पक्राउ पर्न थालेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई महिना लामो सुक्ष्म अनुसन्धानपछि बिहीबार ठेकेदार सागर कटवाललगायतका व्यक्तिहरूलाई नियन्त्रणमा लिएसँगै यस ठुलो गिरोहको पर्दाफास भएको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा ठुला र ‘ए’ वर्गका ठेकेदारहरूले नै ह्याकरसँग मिलेर सार्वजनिक खरिद अनुगमन कार्यालयको अनलाइन प्रणालीमा अनधिकृत पहुँच पुर्याएको भेटिएको छ ।
यो गिरोहले प्रणालीभित्र छिरेर प्रतिस्पर्धी कम्पनीहरूले पेस गरेको गोप्य आर्थिक प्रस्ताव पहिले नै हेर्ने र बोलपत्र दर्ता गर्ने अन्तिम समयभन्दा केही मिनेटअघि मात्रै आफ्नो दररेट संशोधन गरी सबैभन्दा कम मूल्यमा ‘बिड’ हालेर ठेक्का कब्जा गर्ने गरेको पाइएको छ ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार एउटा ठेक्का हात पार्न ठेकेदारहरूले ह्याकरका लागि मात्रै ६० लाख रुपैयाँसम्म खर्च गर्ने गरेका थिए । विशेषगरी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको करिब १० अर्ब रुपैयाँको ठेक्कामा यस्तै डिजिटल चलखेल भएको आशंका गरिएपछि यसको विस्तृत छानबिन सुरु भएको थियो ।
उक्त ठेक्कामा आशिष निर्माण सेवा र सगुन इन्जिनियरिङले पेस गरेको प्रस्तावमा ह्याकिङको संलग्नता हुन सक्ने देखिएपछि हाललाई ठेक्का प्रक्रियाको अन्तिम निर्णय रोकिएको छ ।
यता सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रणालीमा रहेका केही प्राविधिक कमजोरी (लुपहोल) का कारण यस्ता गतिविधि सम्भव भएको स्वीकार गरेको छ । कार्यालयका प्रवक्ता रामप्रसाद आचार्यले विगतमा देखिएका कमजोरीलाई सुधार्दै प्रणालीलाई थप सुरक्षित र बलियो बनाउने काम अघि बढाइएको जानकारी दिए ।
सीआईबी प्रमुख एआईजी डा. मनोज केसीले अनुसन्धान अझै जारी रहेको र यसमा दर्जनौँ ठुला ठेकेदार तथा केही सरकारी कर्मचारीको समेत मिलेमतो हुन सक्ने संकेत गरेका छन् । वर्षौँदेखि चलिरहेको यस्तो सेटिङका कारण राज्यलाई अर्बौँको आर्थिक क्षति पुगेको अनुमान गरिएको छ । प्रहरीले अनुसन्धान पूरा भएपछि सबै तथ्य र संलग्न व्यक्तिहरूको विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।

















