Logo

२२ चैत, काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक आइतबार बस्दैछ। प्रतिनिधि सभाको आजको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद (डीपी) अर्याललाई सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गर्ने मुख्य कार्यसूची रहेको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे सुरु हुने प्रतिनिधि सभाको बैठकमा ‘डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्तावलाई औपचारिक रूपमा निर्णयार्थ प्रस्तुत गरिनेछ। अर्याल शुक्रबार नै यस पदका लागि निर्विरोध निर्वाचित भइसकेका हुन् ।

अर्यालको उम्मेदवारीमा रास्वपाका सभापति रवि लामिछाने प्रस्तावक रहेका छन् भने सांसदहरू डा. स्वर्णिम वाग्ले, सोबिता गौतम र सुनिल लम्साल समर्थक छन् । प्रतिपक्षका तर्फबाट कसैको पनि उम्मेदवारी नपरेपछि अर्याल सर्वसम्मत चयन भएका हुन् ।

यसैगरी, राष्ट्रिय सभाको बैठक आज दिउँसो १२:१५ बजेका लागि तय गरिएको छ । संघीय संसद् सचिवालयका अनुसार बैठकमा सभाध्यक्षले विभिन्न विषयगत समितिहरूमा सदस्यहरूको नाम मनोनयन तथा हेरफेर गर्ने कार्यसूची रहेको छ ।

साथै, अध्यक्ष र उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम पनि आजको बैठकमा मनोनयन गरिनेछ । संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार आजको बैठकमा बालेन्द्र शाहले राष्ट्रिय महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यक्रम समेत तय भएको छ ।

आजको बैठकले नयाँ सभामुखको चयनसँगै संसद्का अन्य नियमित संसदीय प्रक्रियाहरूलाई पनि अगाडि बढाउने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार