२२ चैत, गैंडाकोट । गैंडाकोट नगरपालिका-५ स्थित त्रिनेत्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एकदिने अध्ययन अवलोकन भ्रमण गोरखा र लमजुङका ऐतिहासिक, पुरातात्विक, धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको अवलोकन गर्दै मिति २०८२.१२.२१ गते भ्रमण सम्पन्न गरेको हो ।
ऋण उपसमिति सदस्य बिनोद थापाको संयोजकत्वमा आयोजित भ्रमणमा सञ्चालक समितिकी मनु ढुङ्गाना, इन्दिरा खनाल सापकोटा, व्यवस्थापक प्रधुन्न ढुङ्गाना लगायत विभिन्न उपसमिति सदस्य तथा शेयर सदस्यहरू गरी १२९ जनाको सहभागिता रहेको थियो ।
भ्रमण टोलीले चेपे नदी, राइनास सामुदायिक होमस्टे र राइनासकोट लगायतका क्षेत्रहरूको अवलोकन गरेको थियो। राइनासकोट क्षेत्रमा रहेका शिव, कालिका र थानीमाई मन्दिर, पुरानो दरबार गौंडा, राहुलकोट, राष्ट्रिय विभूति भक्ति थापाको सालिक तथा पार्क, चेपे नदीमाथिका पक्की तथा झोलुङ्गे पुल लगायत संरचनाहरूले क्षेत्रको ऐतिहासिक र पर्यटकीय महत्व झल्काएका छन् ।
अवलोकनका क्रममा सहभागीहरूले स्थानीय स्रोतको उपयोग, सामुदायिक होमस्टे सञ्चालन, पर्यटन व्यवस्थापन तथा पूर्वाधार विकासका अभ्यासबारे जानकारी लिएका छन्। समुदायमा आधारित पर्यटनले रोजगारी सिर्जना र आयआर्जन वृद्धि गर्न सक्ने सम्भावना रहेको उनीहरूको निष्कर्ष छ ।
भ्रमणले सहकारी र पर्यटनबीचको सम्बन्धलाई थप स्पष्ट बनाएको छ । सहकारीमार्फत बचत तथा लगानी परिचालन गरी होमस्टे, कृषि तथा साना उद्यम विकासमा टेवा पुर्याउन सकिने धारणा सहभागीहरूले व्यक्त गरेका छन् ।
अध्ययन अवलोकन भ्रमणले सदस्यहरूमा व्यावहारिक ज्ञान, अनुभव र सामूहिक सोचको विकास गराएको आयोजकले जनाएको छ ।


















