२२ चैत, काठमाडौँ । संयुक्त राज्य अमेरिकाले इराकमा मारिएका पूर्वइरानी जनरल कासिम सुलेमानीका परिवारका दुई सदस्यलाई पक्राउ गरेको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स’ (आईजीआरसी) का तत्कालीन मेजर जनरल सुलेमानीकी भतिजी र नातिनीलाई संघीय सुरक्षा अधिकारीहरूले नियन्त्रणमा लिएका हुन् ।
पक्राउ पर्नेमा सुलेमानीकी भतिजी हमिद सुलेमानी अफसार र उनकी छोरी (नातिनी) रहेका छन्। उनीहरूलाई हाल अमेरिकी आप्रवासन र भन्सार प्रवर्तन (आईसीई) को हिरासतमा राखिएको अधिकारीहरूले पुष्टि गरेका छन् ।
अमेरिकी अधिकारीहरूका अनुसार उनीहरूले इरानका नयाँ सर्वोच्च नेता अली खामेनीको प्रशंसा गर्नुका साथै अमेरिकालाई ‘महान् शैतान’ भन्दै सार्वजनिक रूपमा निन्दा गरेका थिए। सोही गतिविधि र उनीहरूको पृष्ठभूमिलाई आधार मानी सुरक्षा निकायले निगरानी बढाएको थियो। पक्राउ परेकी अफसारका पतिलाई समेत अमेरिका प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।
सन् २०२० को जनवरीमा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालका दौरान इराकको बग्दादमा भएको ड्रोन आक्रमणमा कासिम सुलेमानी मारिएका थिए । आईजीआरसीको वैदेशिक मामिला शाखा (कुड्स फोर्स) को नेतृत्व गरिरहेका सुलेमानीलाई अमेरिकाले आफ्नो सुरक्षाका लागि ठूलो चुनौती मान्दै आएको थियो ।
अमेरिकाले सुलेमानीका परिवारलाई मात्र नभई इरानका अन्य उच्च पदस्थ अधिकारीका आफन्तमाथि पनि कडाइ सुरु गरेको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारीजानीकी छोरी र ज्वाइँको कानुनी हैसियत (भिसा/बसोबास अनुमति) समेत खारेज गरिएको छ । लारीजानी गत मार्च १७ मा इजरायली आक्रमणमा मारिएका थिए ।


















