२२ चैत, चितवन । नारायणी ईङ्ग्लिश पब्लिक स्कूल, भरतपुर–११ मा सञ्चालन भएको श्री राष्ट्रिय सेवा दलद्वारा आयोजित ५१औँ जुनियर डिभिजन तालिममा उत्कृष्ट प्रदर्शन गर्ने क्याडेट छात्रछात्राहरूलाई एक विशेष कार्यक्रमबीच सम्मान गरिएको छ ।
२०८२ चैत २१ गते आयोजित उक्त सम्मान कार्यक्रममा नयाँ सबुझ गण, भरतपुर-चितवनका गणपति प्रमुख सेनानी सुदीप कुमार तमाङ ज्यूद्वारा उत्कृष्ट क्याडेटहरूलाई सम्मान प्रदान गरिएको थियो। कार्यक्रममा विद्यालय परिवार, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
२१ दिने क्लोज क्याम्पअन्तर्गत सञ्चालन गरिएको तालिममा विद्यालयका क्याडेटहरूले उल्लेखनीय उपलब्धि हासिल गरेका छन् । सार्वजनिक भाषणतर्फ प्रथम र द्वितीय स्थान प्राप्त गर्न सफल भएका उनीहरूले सांस्कृतिक कार्यक्रमअन्तर्गत नृत्यतर्फ प्रथम स्थान हासिल गरेका थिए । साथै, छात्र फुटबल प्रतियोगितामा सान्त्वना स्थान प्राप्त गर्दै समग्रतामा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक वेदराज न्यौपानेले एनसीसी तालिमले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता, समय व्यवस्थापन तथा विपद् व्यवस्थापनजस्ता जीवनोपयोगी सीप विकास गर्न महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख । उनका अनुसार विद्यालयले शैक्षिक उपलब्धिसँगै अतिरिक्त क्रियाकलाप र सामाजिक उत्तरदायित्वमा समेत अग्रणी भूमिका निर्वाह गर्दै आएको छ।
भरतपुर महानगरपालिका-११ मा अवस्थित उक्त विद्यालय चितवन जिल्लाका लोकप्रिय विद्यालयहरूमध्ये एकका रूपमा परिचित हुँदै आएको छ । पछिल्लो समय विद्यालयले सुविधा सम्पन्न नयाँ भवन निर्माण कार्यलाई तीव्रता दिँदै आधुनिक शैक्षिक वातावरण तयार गर्ने दिशामा अघि बढिरहेको छ ।
कार्यक्रमको समापनमा सम्पूर्ण क्याडेट बाबुनानीहरूलाई एनसीसी तालिमबाट आर्जन गरेका सीपहरू व्यवहारमा उतार्दै उज्ज्वल भविष्य निर्माणतर्फ अग्रसर हुन शुभकामना व्यक्त गरिएको थियो ।

















