Logo

२२ चैत, भरतपुर । चितवनको भरतपुर महानगरपालिका-३ स्थित नगरवन मार्गमा बसले ठक्कर दिँदा एक बालकको ज्यान गएको छ । गएराति करिब ११ बजेतिर पार्किङका लागि पछाडि सार्दै गरिएको बसले बालकलाई किचेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बा.प्र.०६ ००१ ख ०४९२ नम्बरको बसका सहचालकले सवारी ब्याक गर्ने क्रममा उक्त घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ठक्करपछि गम्भीर घाइते भएका बालकलाई तत्काल उपचारका लागि भरतपुर सरकारी अस्पताल पुर्‍याइएको थियो ।

छातीमा गम्भीर चोट लागेका बालकको उपचारकै क्रममा राति ११ः२५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । प्रहरीका अनुसार मृतक भारतको अमरावती जिल्ला अन्तर्गत अन्जनगाउँ निवासी प्रेम घोस्लेका १० वर्षीय छोरा इरेस घोस्ले रहेका छन् ।

घटनामा संलग्न बस र सहचालक नवलपुरको कावासोती नगरपालिका-१ निवासी २५ वर्षीय प्रेमबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार